Erani Mahal
निस्दीको सातै वडामा बाल भेला सम्पन्न
bal balika
पाल्पा - निस्दी गाउँपालिका,पाल्पाको सातै वडामा बाल भेला सम्पन्न भएको छ । बालमैत्री समाजको आधार,जिम्मेवार परिवार,उत्तरदायी सरकार भन्ने नाराका साथ बाल भेला अभियान सञ्चालन गरेको हो । अभियानले निस्दीको सातै वडामा वडा स्तरीय बाल मञ्च गठन गरेको छ । यसैबीच मित्यालमा बिहीबार बसेको भेलाले यमुकला खाम्चाको अध्यक्षतामा ११ सदस्यीय बाल मञ्च गठन गरेको छ । जसको उपाध्यक्षमा केशर सुनारी, सचिवमा मनिषा जर्घा, सहसचिवमा अमृत खाम्चा र कोषाध्यक्षमा रोशन सोमैलाई चयन गरेको छ । सदस्यहरुमा रजिना परियार, पुष्पा सोमै,वेल कुमारी सारु, कमल सोमै, निविन्द्र सुनारी र राजकुमार परियार रहेका छन । बालबालिकाको भेलाले नवगठित बाल मञ्चको नाम मित्याल बाल उत्थान बाल मञ्च राखेको छ । वडा अध्यक्ष सन्तवीर सुनारीको अध्यक्षतामा बसेको भेलाको प्रमुख अतिथि गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारु रहनुभएको हो । भेलामा बोल्नुहुँदै अध्यक्ष सारुले बालबालिकाको भविष्यको जग नै बाल मञ्च रहेकोले आफ्नो लक्ष्यमा पुग्नको लागि आजैदेखि एकआपसमा हातेमालो गरेर अगाडि बढन अनुरोध गर्नुभएको छ । अध्यक्ष सारुले बालबालिकालाई फुल्न र फलाउनको लागि पालिकाको सधैं साथ र सहयोग रहने प्रतिबद्धता गर्नुहुँदै नवगठित बाल मञ्चलाई सफलताको शुभकामना व्यक्त गर्नुभएको छ । भेलामा गाउँपालिका उपाध्यक्ष तिरन कुमारी श्रेष्ठले बाल अधिकार प्राप्त गर्नको लागि आफ्नो कर्तव्य भुल्न नहुने बताउनुभएको छ । स्वास्थ्य शाखा प्रमुख रेम बहादुर दिशाले बालविवाह अन्त्यका लागि स्वयं बालबालिका नै सचेत हुनुपर्ने बताउनुभएको छ । गौरीशंकर माध्यमिक विद्यालयका प्रधानाध्यापक केश बहादुर सुनारीले अनुशासन बालबालिकाको गहना रहेको बताउनुहुँदै पढाइको अलावा सर्वाङ्गीण विकासमा ध्यान दिन अनुरोध गर्नुभएको छ । शिक्षा शाखाका कर्मचारी लिल बहादुर रासको स्वागबाट शुरु भएको भेलाको सञ्चालन बाल कल्याण अधिकारी कुश्माखर पाण्डेले गर्नुभएको हो । साथै निस्दीमा तत्कालै पालिका स्तरीय बाल मञ्च समेत गठन गरिने पाण्डेले बताउनुभएको छ । निस्दीलाई आगामी ३ वर्षभित्र वालमैत्री स्थानीय शासन लागु भएको गाउँपालिका घोषणा गरिदै छ ।
प्रकाशित मिति: बिहीबार, पुस २८, २०७९  १७:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update