Erani Mahal
पाल्पा र गुल्मीका शिक्षकलाई स्काउट  तालिम
a
तानसेन – पाल्पा र गुल्मीका शिक्षकलाई स्काउट सम्बन्धी तालिम दिइएको छ । दुई जिल्लाका ४५ जना शिक्षकलाई स्काउटको तालिम दिइएको हो । लुम्विनी प्रदेश सरकारको सहयोगमा एक सातासम्म तालिम चलेको हो । तालिममा राष्ट्रिय तथा प्रदेशस्तरका प्रशिक्षकले सहजीकरण गर्नुभएको थियो । तानसेन–९, स्थित माण्डव्य बहुमुखी क्याम्पसमा संचालित तालिमपछि स्काउटको ट्रूप निर्माण गर्न सहयोग पुग्ने स्काउटका प्रदेश समिति सदस्य जीवन आचार्यले जानकारी दिनुभयो । स्काउट गठन भएपछि विद्यालयका विद्यार्थी अनुशासित, सहयोगी, जोखिमका बेला सहयोग गर्न सक्ने दक्ष तथा नेतृत्व लिन सक्ने हुने आचार्यले बताउनुभयो । पाल्पा जिल्लामा विगत दुई दशकदेखि निश्क्रिय रहेको स्काउटका कार्यक्रम जिल्लाभर संचालनमा रहेको उहाँले बताउनुभयो । पाल्पाका ७० वटा विद्यालयमा स्काउट संगठन सक्रिय रहेका छन् । स्काउटको कार्यक्रम संचालनपछि विद्यार्थी सामाजिक तथा सिर्जनशील कार्यमा समेत सहभागी हुन सहयोग पुग्ने स्काउटका तानसेन नगर समिति संयोजक माधव खनालले जानकारी दिनुभयो । दुई जिल्लाको स्काउट तालिमका बेला आयोजित क्याम्प फायर कार्यक्रममा बोल्नुहुँदै तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले स्काउट जस्तो गरिमामय संगठन सदा सक्रिय रहनुपर्नेमा जोड दिनुभयो । उहाँले स्काउट गैरराजनैतिक संस्था भएकाले स्वयम्सेवी भावनाको संस्थालाई सहयोग गर्न आफू सधै तयार रहेको बताउनुभयो । कार्यक्रममा तानसेन नगरपालिकाकी उपप्रमुख प्रतीक्षा सिंजाली, शिक्षा विकास तथा समन्वय इकाई पाल्पाका प्रमुख महेन्द्र सुवेदी, सामाजिक डिभिजन कार्यालय पाल्पाका प्रमुख हरिलाल अर्याल, तानसेन ९ नं. वडाका अध्यक्ष राजेशकुमार अर्याल, वडा नं. ७ का अध्यक्ष प्रदीप खनाल, रिब्दीकोट गाउँपालिकाका शिक्षा शाखा प्रमुख मणी खनाल, माथागढीका शिक्षा प्रमुख प्रेम बाह्रघरे, पूर्वखोलाका शिक्षा शाखा प्रमुख लोकहरी देवकोटा, पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम राना, स्काउटका प्रदेशस्तरीय समितिका प्रमुख तथा सदस्यलगायतको सहभागिता रहेको थियो । च्याम्प फायर कार्यक्रम माधव खनालको अध्यक्षता र शेरबहादुर कुँवरको संचालनमा सम्पन्न भएको हो ।
प्रकाशित मिति: बिहीबार, माघ १९, २०७९  ०९:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update