Erani Mahal
पाल्पा प्यारागन इङ्गलिस बोडिङ्ग स्कुलको २३ औं वार्षिकोत्सव
pp 2
पाल्पा – पाल्पा प्यारागन इङ्गलिस बोडिङ्ग स्कुल तानसेन पाल्पाले २३ औं वार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रमका साथ मनाएको छ । दुई दशक भन्दा लामो समयदेखि जिल्लाको शिक्षा विकासमा उल्लेख्य योगदान गर्दै आएको विद्यालयले १० दिनसम्म विविध कार्यक्रमहरु गरी वार्षिकोत्सव मनाएको विद्यालयका प्रिन्सिपल गंगाबहादुर खत्रीले जानकारी दिनुभयो । कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य खेमबहादुर सारुले निजी विद्यालयले जिल्लाको शैक्षिक क्षेत्रमा महत्वपूर्ण योगदान दिएको बताउनुभयो । उहाँले २३ वर्षे लामो यात्रा तय गर्नु विद्यालयका लागि चुनौतिको विषय भए पनि आफुलाई सफल शैक्षिक संस्थाको रुपमा स्थापित गराउन सफल हुनु आफैमा महत्वपूर्ण रहेको बताउनुभयो । प्रदेशसभा सदस्य सारुले शैक्षिक गुणस्तर वृद्धि गर्ने र शिक्षालाई थप प्राविधिकमैत्री बनाउने दिशामा ध्यान दिन विद्यालयलाई आग्रह गर्नुभयो । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) पाल्पाका अध्यक्ष महेशमान बज्रचार्यले सरकारले निजी क्षेत्रका विद्यालयहरुलाई हेर्ने दृष्टिकोण सामुदायिक विद्यालयलाई भन्दा फरक रहेको बताउनुभयो । उहाँले शैक्षिक क्षेत्रको विकासमा संस्थागत विद्यालयको योगदानको कदर हुन नसकेको बताउनुभयो । प्याब्सन पाल्पाका निवर्तमान अध्यक्ष भरत न्यौपानेले संस्थागत विद्यालयहरुले शैक्षिक गुणस्तर दिन सफल भए पनि सरकारको दृष्टिकोण फरक भएको बताउनुभयो । उहाँले सरकारी र निजी विद्यालयलाई सरकारले गर्ने व्यवहार फरक नभै एउटै बनाउनुपर्ने बताउनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगदीश भट्टराईले आगामी दिनमा समय अनुसारको शिक्षा प्रदानगरी अब्बल जनशक्ति उत्पादन गर्ने शैक्षिक संस्थाका रुपमा विद्यालयलाई स्थापित गर्ने योजना रहेको जानकारी गराउनुभयो उहाँले विद्यालयको विकासमा सबैको सहयोग र साथको खाँचो रहेको बताउनुभयो । कार्यक्रममा तानसेन –३ का वडाध्यक्ष बाबुरत्न शाक्य, तानसेन –१ का वडाध्यक्ष सुनिल बस्याल, तानसेन बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख पुष्करराज रेग्मी, पत्रकार महासंघ पाल्पाका उपाध्यक्ष भरत शर्मा, पाल्पा उद्योग वाणिज्य संघका सचिव विदुर घिमिरे, विद्यार्थी सियसी सारु, पूर्व विद्यार्थी प्रियङ्का कुंवरलगायतले पाल्पाको शैक्षिक क्षेत्रमा विद्यालयले सहयोग गरेको बताउनुभयो । कार्यक्रममा स्कुलका प्रिन्सिपल गंगाबहादुर खत्रीले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयलाई आगामी दिनमा थप गुणस्तरीय, प्रविधिमैत्री बनाउँदै लैजाने बताउनुभयो । उहाँले विद्यालयलाई लुम्बिनी क्षेत्रकै नमूना विद्यालय बनाउने गरी आफुहरु अगाडि बढेको बताउनुभयो । कार्यक्रममा विद्यालय तहमा उत्कृष्ट हुने, विभिन्न विद्याका कार्यक्रमहरुमा सफल हुने विद्यार्थीहरुलाई सम्मान तथा पुरस्कार वितरण गरिएको थियो । विद्यालय सञ्चालक समितिका सदस्य बामदेव बस्यालको स्वागत, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगदीश भट्टराईको अध्यक्षता, विद्यार्थीद्वय ढाका कुँवर र केकी बस्यालको सञ्चालनमा भएको थियो । कार्यक्रमको साथमा विद्यार्थीहरुले सांस्कृतिक प्रस्तुति समेत राखेका थिए ।
प्रकाशित मिति: बिहीबार, फागुन ११, २०७९  १३:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update