Erani Mahal
रामपुरकाे मदरसा नुरुलहोदा अहले सुन्नत प्राविको नयाँ भवन
vawan-udghatan-madarsa
पाल्पा - मदरसा नुरुलहोदा अहले सुन्नत प्राथमिक विद्यालय रामपुर नगरपालिका वडा नं ४ ईस्लामपुर पाल्पामा नवनिर्मित दुईकोठे पक्की भवन उद्घाटन तथा सम्मान कार्यक्रम भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ताजिम अजिम शेखको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापा रहनुभएको हो । भवन उद्घाटन गर्नुहुदै नगर प्रमुख थापाले संस्कारसंगै चेतनाको लागि धार्मिक विद्यालयले खेलेको भुमिका महत्वपूर्ण रहेको हुदा नगरपालिकाले यस विद्यालयका लागि आवश्यक पूर्वाधार निर्माणमा आवश्यक साथ र सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । नगरपालिकाका उपप्रमुख बालकुमारी थापाले विद्यालयलाई कस्तो बनाउने भन्ने कुरा समाजमा निर्भर रहने उल्लेख गर्दै विद्यालयको गुणस्तर कायम राख्नका लागि केन्द्रित हुन आग्रह गर्नुभयो । नगर प्रवक्ता एवम् वडा नं. १ का वडा अध्यक्ष कपिलबहादुर खाँणले शिक्षाको लागि भौतिक पूर्वाधार एक महत्वपूर्ण पक्ष रहेको र अब प्रविधिमैत्री व्याहारिक शिक्षामा ध्यान दिने समय आएको बताउनुभयो । रामपुर नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष रामबहादुर रानाले सामाजिक सद्भाव कायम संगै चेतना अभिवृद्धिमा विद्यालयले खेलेको भुमिकाको चर्चा गर्नु भएको छ । कार्यक्रममा रामपुर नगरपालिकाका नगर शिक्षा अधिकृत विकल काफ्लेले रामपुरमा संचालित विद्यालयमा शैक्षिक सुधार हुदै गएको र भवन निर्माणसंगै शैक्षिक गुणस्तर बृद्धिमा थप सघाउ पुग्ने बताउनुहुन्छ । विद्यालयका पूर्व अध्यक्ष हमिद मियाँ, ईस्लामिक सक्रिय युवा समाजका अध्यक्ष साहादत हुसेन, रामतुलसी नमुना माविका सहायक प्रधानाध्यापक पुर्णचन्द्र घिमिरे, विद्यार्थी फातुमा खातुन, साहिद शेख र आदित अलीले लगायतले बोल्नुहुदै कार्यक्रम सफलताको शुभकामना दिनुभएको छ । विद्यालयका संस्थापक अध्यक्ष हाजी हजिलदिन मियाँले विगतमा चन्दाको भरमा सञ्चालन भएको विद्यालयले न्युन वर्गका विद्यार्थीलाई आवासिय सुविधा सहितको व्यवस्था गर्दै आएको बताउनुभयो । स्थानीय तहको निर्वाचन २०७९ मा निर्वाचित रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापा, उपप्रमुख बालकुमारी थापा तथा वडाध्यक्ष, वडा सदस्यहरुलाई प्रशंसा पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको छ । यहाँ जिल्ला शिक्षा समन्वय इकाई पाल्पाबाट प्राप्त रु १६ लाख अनुदान र रु एक लाख ५७ हजार ३२६ जनश्रमदान गरी कुल रु १७ लाख ५७ हजार ५८६ को लागतमा भवन निर्माण गरी उद्घाटन गरिएको प्रधानाध्यापक नगेन्द्रप्रसाद काफ्लेले बताउनुभयो । विद्यालयका संस्थापक अध्यक्ष हाजि हजिलदिन मियाँले स्वागत गर्नुभएको कार्यक्रमको संचालन शिक्षक निर्मला अर्यालले गर्नुभएको हो । विद्यालयमा हाल तीननवटा पक्की भवनमा ११ वटा कक्षाकोठा छन् । वि सं २०६७ मा चन्दा उठाएर सुरु गरिएको यस विद्यालय अहिले सुविधा सम्पन्न भवनमा संचालन भईरहेको छ । नेपाली, अंग्रेजी, अरविक र उर्दु भाषामा अध्यापन हुने विद्यालयमा हाल ६० जना विद्यार्थी अध्ययनरत छन् । कक्षा नर्सरी देखि ५ सम्म पढाइ हुने यस विद्यालयमा विद्यालयमा स्थायी दरबन्दीमा तीन जना सहित नेपाल सरकारको दरबन्दीमा पाँच जना, निजि श्रोतबाट पाँच जना र एक जना कार्यालय सहयोगी कार्यरत छन् ।
प्रकाशित मिति: मंगलबार, चैत ७, २०७९  ०७:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update