Erani Mahal
रामपुरमा कानुन निर्माण सम्बन्धी अनुशिक्षण
eee
पाल्पा - स्थानीय तहमा कानुन निर्माण प्रक्रिया बारेमा अनुशिक्षण कार्यक्रम रामपुर नगरपालिका पाल्पामा शुक्रबार सम्पन्न भएको छ । रामपुर नगरपालिकाको आयोजनामा भएको अनुशिक्षण कार्यक्रममा जनप्रतिनिधि र कर्मचारीहरुका लागि कार्य सम्पादन तथा संचालनका लागि पालिका भित्र कानुन निर्माण गर्ने प्रक्रियाको बारेमा जानकारी गराईएको हो । रामपुर नगरपालिकाको सभाहलमा भएको कार्यक्रममा स्थानीय सरकार सञ्चालनका लागि स्थानीय तहमा विभिन्न कानुन निर्माणको प्रक्रिया, कानुनी आधार र व्यवस्था, कानुन तर्जुमाको आवश्यकता, स्थानीय सरकारको काम कर्तव्य र अधिकारको आधारशिला, अधिकारको वाँडफाँडको ढाँचा र प्रयोग, कानुन निर्माणका सिमा, अधिकार र जिम्मेवारी लगाएतका विषयमा सहजिकरण गरिएको थियो । कार्यक्रममा बोल्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले कानुन राज्य संचालनको महत्वपूर्ण पाटो भएको बताउनुभयो । हरेक निकायको सञ्चालन र कार्य सम्पादन कस्तो कानुन निर्माण गर्ने भन्ने विषयले निर्धारण गर्ने उल्लेख गर्नुभयो । राज्य र सरकारलाई सफल पार्न निर्माण गरिने कानुनमा निर्भर हुने भन्दै स्थानिय तहलाई सफल बनाउन सहि कानुनको निर्माण गर्न आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपानले कार्यक्रमको उद्देश्य माथी प्रकाश पार्दै संविधानले व्यवस्था गरे बमोजिम हरेक तह संचालनका लागि सवैले उपयुक्त कानुन बनाउनु पर्ने बताउनुभयो । तालिमको सहजिकरण सहजकर्ता अनिल खनालले गर्नु भएको थियो । रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाको अध्यक्षतामा भएको एक दिने अनुशिक्षण कार्यक्रमको संचालन योजना शाख प्रमुख विक्रम बस्नेतले गर्नु भएको थियो ।
प्रकाशित मिति: आइतबार, चैत १९, २०७९  २०:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update