Erani Mahal
हर्ट ग्रुपद्वारा उपचाररत महिलालाई रकम सहयाेग
Help
पाल्पा - सामाजिक सञ्जाल टिकटकमा जोडिएकाहरुको समूह नेपाली हर्ट ग्रुपले पाल्पाको मिसन अस्पतालमा उपचार गराइरहेकी नवलपरासी वर्दघाटकी बिरामी सुशीला सिग्देललाई उपचारका लागि सहयोग गरेको छ । आगोले पोलिएर जलेकी बिरामी सिग्देललाई हर्ट ग्रुपले सहयोग रकम जुटाएर १ लाख ६ हजार नगद सहयोग गरेको हो । घरायशी काम गर्ने क्रममा एक्कासी आगोले जलेकी सिग्देललाई वर्दघाट र बुटवलमा उपचार हुन नसकेपछि पाल्पा ल्याइएको हो । पाल्पाको मिसन अस्पतालमा उपचार गराइरहेकी सिग्देललाई उपचारमा खर्च अभाव नहोस् भनेर सहयोग दिइएको ग्रुपका केन्द्रीय सदस्य पिताम्बर पोखरेलले जानकारी दिनुभयो । नेपालकै विभिन्न स्थानका साथै विदेशमा बस्ने नेपालीहरु ५० जनाले सहयोग गरेका छन् । थोरै थोरै सहयोग जुटाएर पनि केही सहयोग पुग्ने भएकाले पनि टिकटक मार्फत् आव्हान गरिएको थियो । विपन्न परिवारका र उपचारमा आर्थिक अभाव भएको जानकारी पाएपछि सहयोग गरेको ग्रुपले जनाएको छ । सामाजिक सञ्जाल टिकटकमार्फत् विकृतिमात्र होइन सहयोगी भावना भएकाहरुको पनि समूह हुन्छ भनेर चिनाउन गठन गरेको हर्ट ग्रुपले बिरामीका आफन्तलाई सहयोग रकम हस्तान्तरण गरेको हो । पाल्पामै यसअघि रक्त अल्पताका बिरामी सुमन दर्लामीलाई एकलाख, सिर्जनशील अपांग स्वाबलम्बन केन्द्र पाल्पा, दमकडा माविका दृष्टिविहिन विद्यार्थीलाई पनि सहयोग जुटाएको ग्रुपका अध्यक्ष डिल्लीराम पराजुलीले जानकारी दिनुभयाे । बिरामीका आफन्त सुवास सिग्देलले सहयोगी मनहरुले गर्दा नै यतिका धेरै सहयोग जुटेकामा धन्यवाद दिनुभएकाे थियाे । कार्यक्रममा ग्रुपकी केन्द्रीय कोषाध्यक्ष रश्मी आले, केन्द्रीय सदस्य पिताम्बर पोखरेल, र पदम प्रसाद खनाल, पोखरा शाखाकी उपाध्यक्ष सरु बराल, पाल्पा शाखाकी अध्यक्ष कमला गोदार, वुटवल शाखाका प्रकाश चापागाई लगायतले सामाजिक सञ्जालबाट पनि विपन्न, आर्थिक अभाव भएका, विभिन्न रोगले उपचारमा अभाव हुनेहरुका लागि सहयोग जुटाउन सकिन्छ भन्ने उदाहरण नेपाली हर्ट ग्रुप भएकाे बताउनुभएकाे थियाे ।
प्रकाशित मिति: शनिबार, चैत २५, २०७९  २१:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update