Erani Mahal
निस्दीको दोस्रो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न
मब
पाल्पा - निस्दी गाउँपालिका, पाल्पाको दोस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत ध्रुव दयालले प्रगति प्रतिवेदन सार्वजनिक गर्नुभएको छ । निस्दीमा हालसम्म वित्तीय तर्फ ३० दशमलव ८२ प्रतिशत र भौतिक तर्फ ५१ प्रतिशत खर्च प्रगति भएको प्रतिवेदनमा उल्लेख छ । हालसम्म २ सय ४९ वटा योजनाको सम्झौता भएको र ६४ वटा योजनाको फरफारक भएको प्रतिवेदनमा उल्लेख रहेको छ । निस्दीले विगत एक वर्षदेखि बन्द रहेको २५ किलोवाट क्षमताको वायु उर्जा सञ्चालनमा ल्याइएको, एकीकृत घुम्ती सेवा सञ्चालन र स्वास्थ शिविर सञ्चालन गरेको दयालले बताए । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत ७३ जनालाई रोजगारमुलक आयोजनामा संलग्न गराइएको, सात वटै वडा जोडिने गरि केम खाम्चा मार्गको ग्रावेल तथा स्तरउन्नतिका लागि प्रक्रिया अगाडि बढाएको प्रतिवेदनमा रहेको छ । आन्तरिक पर्यटन प्रवर्द्धनको लागि विशेष योजना अगाडि बढाउनुका साथै १५ सैया हस्पिटलको पर्खाल निर्माण र दोस्रो ढलानको काम भइरहेको दयालले बताए । सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागीले निस्दीमा वालविवाहको समस्या, शैक्षिक गुणस्तर, पर्यटन प्रबर्द्धन, बिजुली, यातायात, खानेपानीसँग सम्बन्धित जिज्ञासा राखेका छन । यसैबीच सार्वजनिक सवारीसाधनको भाडादर समायोजन हुनुपर्ने, स्थानीय उत्पादनको बजारीकरण तथा प्रोत्साहन, सहकारीको अनुगमन तथा व्यवस्थापन हुनुपर्ने जिज्ञासा तथा सुझाव राखेका छन । अध्यक्षको असनबाट बोल्नुहुँदै गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुले जिज्ञासा तथा सुझाव दिनुहुने सबैलाई धन्यवाद दिनुहुँदै पालिकाले परिमाणमुखी भन्दा परिणाम आउने खालको काम गरिने बताए । अध्यक्ष सारुले आगामी दिनमा निस्दीले रोजगार तथा व्यवसाय मुलक र उत्पादनमुखी काम गरिने बताए ।गाउँपालिकाको बहुउद्देश्यीय भवनमा भएको कार्यक्रममा उपाध्यक्ष तिरन कुमारी श्रेष्ठ, नेकपा एमालेका दमन सिंह थापा, नेपाली कांग्रेसका पूर्ण बहादुर खाँण लगायतले शुभकामना मन्तव्य राखेका छन । सहभागीले उठाएका जिज्ञासाको जवाफ विभिन्न विषयगत शाखा संयोजक, प्रमुख प्रशासकीय अधिकृत तथा गाउँपालिका अध्यक्षले दिएका छन । सार्वजनिक सुनुवाई कार्यक्रमको सहजीकरण पत्रकार माधव अर्याल र दयाराज न्यौपानेले गरेको हो ।
प्रकाशित मिति: शनिबार, वैशाख २, २०८०  २०:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update