Erani Mahal
रामपुरमा युवा उद्यमीहरु विच अन्तरक्रिया सम्पन्न
yuwa sorojgar
पाल्पा । रामपुर नगरपालिका र युवा स्वरोजगार व्याज अनुदानमा आवद्ध युवा उद्यमीहरु विच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । रामपुर नगरपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक साझेदारी तथा पछौटेपन उन्मूलन समाज वेस नेपालको सहजिकरणमा सञ्चालित रामपुर कृषि तथा पशु उद्यमशिलता विकास परियोजना कार्यक्रम अन्तर्गत व्याज अनुदानमा आवद्ध युवाहरु विचको मंगलबार अन्तरक्रिया सम्पन्न भएको हो । नगरपालिकाले कृषि तथा पशु उद्यमी युवाहरुका लागि सञ्चालन गरेको युवा स्वरोजगार अन्तर्गतको व्याज अनुदान सम्बन्धि जानकारी दिन तथा आगामी नीति तथा कार्यक्रममा आवश्यक सुझाव लिनको लागि अन्तरक्रिया गरेको हो । अन्तरक्रियामा बोल्दै रामपुर नगर प्रमुख रमण बहादुर थापाले युवा स्वरोजगार अन्तर्गत व्याज अनुदान कार्यक्रम रामपुर नगरपालिकाले देश मै पहिलो पटक सुरुवात गरेको जानकारी दिनुभयो । उहाँले युवाहरुलाई स्वदेश मै सफल उद्यमी बन्न आग्रह गर्दै नगरपालिकाले यस अघि ३० लाख सम्मको व्याज अनुदान दिदै आएकोमा आवश्यकता अनुसार परिमार्जन गर्दै अघि बढ्ने बताउनुभयो । साथै उहाँले स्थानीय स्तरमा उत्पादन भएका कृषि उपजहरुको बजारिकरणमा पनि सहयोग गर्नका लागि नगरपालिका लागि परेको बताउनुभयो । अन्तरक्रियामा रामपुर नगरपालिकाका उपप्रमुख बाल कुमारी थापाले निरन्तर रुपमा व्यासायीक रुपमा उद्यम गर्न अनुरोध गर्नु भएको छ । कतिपय कृषकहरु व्याज अनुदान पाउँदा सम्म मात्रै कृषि तथा पशुपालन व्यवसाय गर्ने र त्यस पश्चात छाड्ने गरेको पाईएको भन्दै उहाँले व्यवसायलाई निरन्तरता दिई आर्थिक रुपमा आत्मनिर्भर बन्न आग्रह गर्नुभयो । साथै व्यसायलाई निरन्तरता दिए सहयोग र अनुदानको कमी नहुने बताउनुभयो । कार्यक्रममा रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपानेले व्याज अनुदान कार्यक्रम नयाँ र नगरपालिकाको लागि उपलब्धिमूलक कार्यक्रम भएको उल्लेख गर्नुभयो । साथै नगरपालिकाले आगामी दिनमा उत्पादकत्वको आधारमा कृषिलाई प्राथमिकता दिनु पर्नेमा जोड दिनुभयो । यस्तै रामपुर नगरपालिका आर्थिक विकास समितिका संयोजक दुर्गा देवि भण्डारी गौतमले मापदण्ड पुरा गरेर कृषि तथा पशु उद्यम गरे व्याज अनुदान प्रदान गरिने भन्दै दिगो रुपमा व्यवसाय सञ्चालन गर्न आग्रह गर्नुभयो । कार्यक्रममा रामपुर नगरपालिकाका कृषि शाखा प्रमुख रामहरि पाण्डेले मापदण्ड पुरा गरेर व्यवसाय सञ्चालन गर्न अनुरोध गर्नुभयो । साथै व्यवसायलाई निरन्तरता नदिए नगरपालिकाले चाहेको खण्डमा अनुदान फिर्ता पनि माग गर्न सक्ने चेतावनी दिनुभयो । उहाँले अनुदानका लागि आवश्यक मापदण्ड , अनुगमनको प्रक्रिया , कार्यक्रमको बर्तामान अवस्था र उपलब्धि लगाएत युवा स्वारोजगार अन्तर्गत व्याज अनुदान कार्यक्रम बारे जानकारी गराउनु भएको थियो । रामपुर नगरपालिकाको सभाहलमा भएको कार्यक्रममा सहभागि कृषकहरुले व्याज अनुदान नविकरण गर्नु पर्ने , ऋणको समयावधि बढाउने पर्ने , खेतबारी र गोठ सम्म पशु प्राविधिकको व्यवस्था गर्नु पर्ने , उत्पादनमा उत्प्रेरणा जगाउने कार्यक्रम सञ्चालन गर्नु पर्ने , तालिमको व्यवस्था गर्नु पर्ने , दुधको गुणस्तर मापन र कायम गर्नु पर्ने लगाएतका माग राखेका छन् । रामपुर कृषि तथा पशु उद्यमशिलता विकास परियोजनाका अनुगमन समितिका संयोजक तथा नगर प्रमुख रमण बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन परियोजना संयोजक सञ्जु परियारले गर्नु भएको थियो ।
प्रकाशित मिति: बुधबार, जेठ ३१, २०८०  ०८:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update