Erani Mahal
निस्दीमा २० वर्ष पुगेर विवाह गर्ने महिलालाई सम्मान
ssda
पाल्पा - निस्दी गाउँपालिकाले कक्षा १२ उत्तीर्ण गरी २० वर्ष उमेर पुगेर विवाह गर्ने महिलाहरुलाई सम्मान गरेको छ । बालमैत्री गाउँपालिका घोषणाका लागि अभियान संञ्चालन गर्दै आएको पालिकाले बालविवाह न्यूनिकरणका लागि प्रोत्साहन स्वरुप पुरस्कार प्रदान तथा सम्मान गरेको हो । गाउँपालिकाले आर्थिक वर्ष २०७९ साउन १ देखि बैशाख ३१ गते सम्म निस्दी गाउँपालिका भित्र स्थायी बसोबास गरिरहेका कक्षा १२ उत्तीर्ण गरी २० वर्ष उमेर पुगेर विवाह गर्ने महिलाहरुलाई प्रोत्साहन पुरस्कार दिइएको हो । सम्मान कार्यक्रममा बोल्नुहुँदै गाउँपालिकाका अध्यक्ष मुक्त बहादुर सारुले महिलाहरुलाई शिक्षा तर्फ उत्प्रेरित गर्नुका साथै बालविवाह न्यूनिकरण गर्न प्रोत्साहन हुने बताउनुभएको छ । निस्दीमा बालविवाह गर्नेको संख्या बढिरहेकाले यसलाई यो सम्मान कार्यक्रमले थप प्रोत्साहन गर्ने सारुको भनाइ छ । गाउँपालिका उपाध्यक्ष तिरन कुमारी श्रेष्ठले बालविवाह न्यूनिकरण तथा महिलाहरुलाई शिक्षा तर्फ उत्प्रेरित गर्नका लागि प्रोत्साहन पुरस्कार प्रदान गरेको बताउनुभएको छ । महिला लक्षित कार्यक्रमका लागि विनियोजित बजेट मार्फत बालविवाह न्यूनिकरण गर्न तथा शिक्षामा प्रोत्साहन गर्न कार्यक्रम गरेको प्रमुख प्रशासकीय अधिकृत ध्रुव दयालले बताउनुभएको छ । पालिकाको ७ वटै वडाका २४ जना महिलाहरुलाई जनाही ८ हजार नगद सहित सम्मान पत्रले सम्मान गरेको गाउँपालिका योजना प्रमुख तथा सूचना अधिकारी अर्जुन खनालले बताउनुभएको छ । कार्यक्रममा सहभागिताका लागि गत जेठ ११ देखि १७ गतेसम्म आवश्यक कागजपत्रहरु सहित निवेदन आह्वान गरेको थियो । प्रोत्साहन पुरस्कारका लागि नेपाली नागरिकताको प्रमाण पत्र, कक्षा १२ उत्तीर्ण गरेको शैक्षिक प्रमाण पत्र, विवाह दर्ता प्रमाण पत्रको प्रतिलिपि र बैंक खाता नम्बर निस्दी गाउँपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा र सम्बन्धित वडा मार्फत निवेदन पेश गर्न अनुरोध गरेको थियो । यस अघि निस्दी गाउँपालिकाले पालिका भित्रका स्नातकोत्तर तह उत्तीर्ण गर्ने महिलाहरलाई नगद सहित सम्मान गरेको थियोे ।
प्रकाशित मिति: मंगलबार, असार १२, २०८०  १४:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update