Erani Mahal
प्रतिभा सङ्गम तथा पुस्तक चर्चा कार्यक्रम सम्पन्न
TT
पाल्पा - वाङ्मय प्रज्ञाप्रतिष्ठानमा पाल्पाको आयाेजनामा प्रतिभा सङ्गम तथा पुस्तक चर्चा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम प्रति गाेपालप्रसाद बस्यालकाे अध्यक्षतामा भएको हाे । प्रमुख अतिथिका रूपमा जनता माविका प्रअ कपिल कुवर हुनुहुन्थ्यो । अतिथिहरूमा हरिप्रसाद घिमिरे, गाेविन्द भट्टराई, महेन्द्र पन्थी, रामप्रसाद अर्याल, रामप्रसाद ढकाल, धातानन्द गैरे आदि हुनुहुन्थ्यो । सुरुमा कार्यक्रमकाे उद्देश्यमाथि प्रकाश पारी आमन्त्रित व्यक्तिहरूलाई स्वागत गर्ने काम प्रतिष्ठानका अध्यक्ष गाेपालप्रसाद बस्यालले गर्नुभएको थियो । संस्थाले विगतमा गरेका कामकाे सन्दर्भ जाेड्नुका साथै पुस्तक समीक्षा कार्यक्रम गर्दै आएको कुरा उहाँले उल्लेख गर्नुभयो । तीर्थ गाैतमले रिपलाल विश्वकर्माकाे 'विवाह पद्धति' कृतिको परिचय गराई उक्त कृतिले सामाजिक रूपान्तरणमा खेलेको भूमिकामाथि प्रकाश पार्नुभयाे । दलितहरूलाई कर्मकाण्ड पद्धतिमा गरिएको विभेदप्रति असन्तुष्ट भई विवाह पद्धति लेखिएको सन्दर्भ उहाँले उल्लेख गर्नुभयो । भक्ते दमाईँ (भक्ते मास्टर) ले अङ्ग्रेजी सिकाएको प्रसङ्ग पनि उहाँले उल्लेख उल्लेख गर्नुभयो । यस्ता लुकेका प्रतिभाहरूकाे खाेजी गरी तिनका विषयमा विषयका तथ्यलाई सम्प्रेषण गर्ने काम वाङ्मयले गराेस् भन्नुभयो । 'म हुँ यो घरकी बुहारी' शीर्षककाे कविता पाठसमेत उहाँले गर्नुभयो । युवा कवि शंकर ढकालले 'नेपाल फर्कूँ किन ?' शीर्षककाे छन्द कविता प्रस्तुत गर्नुभयो । भित्री मर्ममा कटाक्षका साथै विद्रोही चेतना उहाँकाे कवितामा व्यक्त भएको थियोे । ''बाक्साभित्र बनी म लास सजिँदै नेपाल फर्कूँ किन ?'' भन्ने संवेदना कवितामा पाइयो । सीताराम घिमिरेले मुक्तकहरू वाचन गर्नुभयो । समय सन्दर्भ नबुझी शब्द प्रयोग गर्दा हुने अनर्थलाई मुक्तका सङ्केत गरिएको थियोे । 'चाैतारीले पर्खेकाे छ' शीर्षकको कवितामा वर्तमानको यथार्थलाई प्रस्तुत गरिएको थियोे । रामप्रसाद ढाकालले राजकुमार बरालकाे 'शिक्षा विमर्श' पुस्तकमाथि चर्चा गर्ने काम गर्नुभयो । सार्वजनिक शिक्षाको पक्षमा बहस, व्यक्तिकेन्द्री स्वार्थमा केन्द्रित शिक्षा कामयावी नभएको, अहंकार र अहंभावनाकाे दम्भ बढ्दै गएको कारण शिक्षा प्रमुख रहेको कुरा उक्त पुस्तकमा उल्लेख गरिएको सन्दर्भ उठाउनुभयो । साहित्यकार गाेमविक्रम क्षेत्रीले समसामयिक विषयमा कृन्द्रित मुक्तकहरू वाचन गर्नुभयो । राजनीति, समाज, श्रमिकहरूका व्यथालाई प्रस्तुत गरिएको थियोे । उन्नति र समृद्धिकाे चेतना प्रस्तुत गरिएको थियोे । राेहित ज्ञवालीले आफैले प्रयोगमा ल्याएको गुलेली काव्यका पंक्तिहरू प्रस्तुत गर्नुभयो । उहाँका पंक्तिहरू कवि भानुभक्तकाे विषयमा केन्द्रित थिए । धातानन्द गैरेले केही हाइकुहरू प्रस्तुत गर्नुभयो । प्रकृति र जीवनकाे सम्बन्ध उहाँका हाइकुमा प्रस्तुत भएको थियोे । प्रतीकात्मक शैलीकाे प्रयाेगका साथमा कटाक्षपूर्ण प्रहार गरिएको थियोे । हरिप्रसाद घिमिरेले पाका पुस्ताले झेल्नुपरेका समस्याकाे दृष्टान्त पउठान गरी 'हजुरबाहरूकाे अवस्था' शीर्षकको कविता प्रस्तुत गर्नुभयो । प्रकृतिको चित्रणसँगै जीवनकाे यथार्थबाेध र तिक्ततालाई प्रस्तुत गरिएको थियोे उहाँको कवितामा । बुढ्याैली अवस्थाकाे मार्मिक व्यथाकाे अभिव्यक्ति थियोे कवितामा । रामप्रसाद अर्यालले वाङ्मय प्रतिष्ठानले कार्यक्रमकाे आयाेजनाकाे सन्दर्भ जाेडी खुसी व्यक्त गर्नुभयो । धर्तीमा हाम्रो जन्म हुने सन्दर्भ जाेडी सबै मानव एउटै रहेको मर्म प्रस्तुत गरी केही हाइकुहरू वाचन गर्नुभयो । प्रकृति चेतना, मानवीय स्वभाव, द्वन्द्व तथा श्रमको महिमा उहाँका हाइकुहरूमा प्रस्तुत भएको थियोे । डा. टंकप्रसाद पन्थबाट गणेश नेपालीको 'अछूत' लघुकथासङ्ग्रहमाथि टिप्पणी गर्ने काम भयो । कृतिको संरचाना, कृतिभित्रका कथाहरूकाे मर्म, शीर्षकीकरण, प्रवृत्ति र शैलीशिल्पका बारेमा प्रकाश पार्ने काम भयो । साहित्यकार महेन्द्र पन्थीले संविधानमा समाजवाद लेख्ने शिक्षामा व्यापार गर्ने राज्यको प्रवृत्तिप्रति टिप्पणी गर्दै 'खबरदार यहाँ सुन्दरताका कविता लेख्न वर्जित छ' शीर्षकको गद्य कविता वाचन गर्नुभयो । बिम्ब, प्रतीक र सङ्केतहरूकाे प्रस्तुतिका साथमा जीवनबाेधकाे भाव व्यक्त थियोे उहाँको कवितामा । गणेश नेपालीले गजल प्रस्तुत गर्नुभयो । गरिबी र विपन्नताकाे मर्मकाे प्रस्तुति थियोे उहाँकाे गजलमा । साहित्यकार तथा पत्रकार महासंघका पूर्व सभापति गाेविन्द भट्टराईले वाङ्मय प्रज्ञाप्रतिष्ठानले विगतमा गरेका कार्यक्रम र प्रतिभाकाे प्रकाशन गरेको सन्दर्भलाई जाेड्नुभयाे । संस्थापक अध्यक्ष जगतबहादुर जाेशी रहेको र त्यसपछिका समिति र संस्थाको क्रियाशीलताका बारेमा प्रकाश पार्नुभयाे । २०४० सालमा लेखेको र 'उपहार' पत्रिकामा प्रकाशित 'विद्यार्थी' शीर्षकको कविता वाचन गर्नुभयो । उहाँले दुईवटा लघुकथा पनि प्रस्तुत गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथि कपिल कुँवरले आफूलाई प्रमुख अतिथि बनाएकोमा धन्यवाद व्यक्त गर्नुभयो । आफ्ना रचनाहरू निश्चित विचारबाट निर्देशित रहेको सन्दर्भ उहाँले प्रस्तुत गर्नुभयो । कवितासङ्ग्रह प्रकाशनकाे तयारीमा रहेको, पछिल्लो समयमा यात्रा संस्मरणतर्फ अभिमुख रहेको र यात्रा संस्मरणसमेत प्रकाशनकाे तयारीमा रहेको कुरा व्यक्त गर्नुभयो । 'उसकाे मन' शीर्षकमा गद्य कविता प्रस्तुत गर्नुभयो । वर्गीय चेतना भाव व्यक्त भएको थियोे उहाँका कवितामा । माटाे प्रेम र राष्ट्रिय स्वाभिमानकाे मर्मका साथमा राष्ट्रिय एकताको भाव व्यञ्जित भएको थियोे कवितामा । गरिबहरूकाे ढाडमा टेकेर सत्तासीन हुनेहरूले गरिबका पीडाव्यथालाई बेवास्ता गर्नु विडम्बनापूर्ण भएको मर्म पाेखिएकाे थियोे कवितामा । अध्यक्ष गाेपालप्रसाद बस्यालले कार्यक्रममा उपस्थित सम्पूर्ण सहभागी तथा अतिथिहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो । अबका दिनमा वाङ्मयले कार्यक्रमलाई निरन्तरता दिने विश्वास पनि व्यक्त गर्नुभयो । 'किताबका माछा' शीर्षकको व्यङ्ग्यात्मक कथा प्रस्तुत गर्नुभयो । कार्यक्रम विविधतामय रह्यो । समकालीन समाजका यथार्थलाई सिर्जनाद्वारा अभिव्यक्त गरिएको पाइयो । साहित्य, शिक्षा, संस्कृति, प्रकाशन, लेखनकाे निरन्तरताका विषयमा पनि विमर्श भयो । भानुको याेगदान र प्रभावका कुराहरू पनि प्रस्तुत भए । टंक पन्तको सहयोगमा ।
प्रकाशित मिति: शनिबार, असार ३०, २०८०  १८:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update