Erani Mahal
निस्दीले विद्यार्थीलाई दिवा खाजा वापत २० रुपैयाँ उपलब्ध गराउने
nisdi-photo-1290x968
पाल्पा - निस्दी गाउँपालिकाले विद्यार्थीलाई चालु आर्थिक वर्षमा दिवा खाजा वापत २० रुपैयाँ उपलब्ध गराउने भएको छ । गाउँपालिका भित्रका कक्षा आठ सम्मका विद्यार्थीले दिवा खाजा पाउने छन् । प्रारम्भिक बाल विकासदेखि कक्षा आठ सम्मका विद्यार्थीले दैनिक बीस रुपैयाँको दरले खाजा खान पाउने गाउँपालिकाले जनाएको छ । संघीय सरकारले हाल प्रारम्भिक बाल विकासदेखि कक्षा पाँच सम्मका विद्यार्थीलाई मात्र पन्ध्र रुपैयाँको दरले दिवा खाजा उपलब्ध गराएको छ । भोको पेटले राम्रोसँग सिक्न नसकिने भएकोले हाल आठ कक्षा सम्मका विद्यार्थीलाई दिवा खाजाको व्यवस्था गरेको गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुले बताउनुभयो । यसले विद्यार्थीहरुको उपस्थितिमा नियमित हुने र विद्यालय छाड्नेको संख्यामा कमी आउने विश्वास लिइएको अध्यक्ष सारुको भनाइ छ । संघीय सरकारले यस वर्ष कक्षा ६ को समेत बजेट कटौती गरेकोले गाउँपालिकाले दिवा खाजा कार्यक्रमलाई थप व्यवस्थित बनाउन बजेट विनियोजन गरेको प्रमुख प्रशासकीय अधिकृत ध्रुव दयालले बताउनुभयो । विद्यार्थीलाई साविकको खाजा रकम न्यून भएको महशुस गरी गाउँपालिकाले प्रारम्भिक बाल विकासदेखि कक्षा पाँचसम्म थप पाँच रुपैयाँ र कक्षा ६ देखि आठसम्म बीस रुपैयाँको दरले बजेटको व्यवस्था गरेको प्रमुख प्रशासकीय अधिकृत दयालले बताउनुभयो । दिवा खाजा कार्यक्रम सफल पार्नको लागि विद्यालयको महत्वपूर्ण भूमिका रहने भएकोले नियमित अनुगमनको लागि वडा कार्यालयलाई जिम्मा दिएको छ । निस्दीमा हाल ५२ वटा सामुदायिक विद्यालय रहेको शिक्षा शाखा संयोजक नर बहादुर थापाले बताउनुभयो । विगतमा निस्दीले कक्षा आठसम्मका विद्यार्थीलाई पन्ध्र रुपैयाँका दरले दिवा खाजाको रकम उपलब्ध गराउँदै आएको थियो ।
प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८०  १९:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update