Erani Mahal
पाल्पाकाे सराइमा भएकाे मैत्रीपूर्ण फुटबलमा जनप्रतिनिधि विजयी
Football
पाल्पा - पाल्पाको सराइ खेलमैदानमा भएका मैत्रीपूर्ण फुटबल खेलमा जनप्रतिनिधिकाे समूह विजयी भएकाे छ । माथागढी गाउँपालिकाका जनप्रतिनिधि र नेपाल खेलकुद पत्रकार मञ्चका पत्रकारहरूकाे बीचमा भएकाे मैत्रीपूर्ण फुटबल खेलमा जनप्रतिनिधिकाे समूह ४-२ गाेलले विजयी भएकाे हाे । जनप्रतिनिधिकाे तर्फबाट माथागढी गाउँपालिकाकातर्फबाट वडा नम्बर ४ का वडाध्यक्ष तथा प्रवक्ता शंकर दर्लामीले ह्याट्रिक गोल गर्नुभयो । यस्तै गाउँपालिका अध्यक्ष यम चिदीले एक गोल थप्नुभयो । पत्रकार मञ्चकातर्फबाट सचिव विजय वौडेल र सदस्य दुर्गेश मल्लले सान्तवना गोल गरेर खेललाई रोमाञ्चक बनाउनुभयो । प्रतियोगिताको प्रतिनिधिसभा क्षेत्र नम्बर १ का सांसद नारायणप्रसाद आचार्यले उद्घाटन गर्दै आपसी भाइचारा र मित्रवत सम्बन्ध स्थापना गर्नका लागि यस्ता प्रतियोगिताले सहयोग पुग्ने बताउनुभयो । वहाँले कलम र क्यामेरा चलाउने पत्रकारहरु र जनताका सेवक बनेका जनप्रतिनिधिहरु खेलकुदलाई अगाडि बढाउनपर्छ भनेर मैदानमा उत्रेकामा खुसी लागेको बताउनुभयो । पाल्पाको माथागढीको माडी क्षेत्रमा रहेको कसेनीलाई उत्कृष्ट खेलमैदान बनाउनका लागि आगामी दिनमा तीन तहका सरकारले पहल गर्नुपर्नेमा वहाँले बताउनुभयो । लम्बिनी प्रदेश सभा सदस्य खेमबहादुर सारुले खेलकुदको माध्यमबाट स्वस्थ शरीर बनाउन सहयोग पुग्ने र मैत्रीपूर्ण खेलले आपसी भाइचाराको सम्बन्ध अझ राम्रो हुने बताउनुभयो । पत्रकार र जनप्रतिनिधिको सम्बन्धलाई थप बलियो बनाउन मैत्रीपूर्ण खेलले सहयोग पुगेको वहाँले बताउनुभयो । नेपाल खेलकुद पत्रकार मञ्च जिल्ला समन्वय समिति पाल्पाको समन्वय र माथागढी गाउँपालिकाले आयोजना गरेको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा गाउँपालिका अध्यक्ष यम बहादुर चिदीले कसेनीको सराई खेलमैदानलाई पाल्पा जिल्लाकै फुटबल मैदान बनाउने योजना रहेको जानकारी गराउनुभयो । वहाँले जनप्रतिनिधि र पत्रकार बीच भातृत्व कायम गर्ने र खेलमैदानको प्रचारप्रसार गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरेको जानकारी दिनुभयो । कार्यक्रममा अध्यक्ष चिदीले जिल्लाकै खेलमैदानको रुपमा सराई खेलमैदानलाई विकास गर्ने योजना बनाएको र यसलाई सबैको सहयोग रहनेमा आफू विश्वस्त भएको बतााउनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ पाल्पा शाखाका अध्यक्ष रेखिराम रानाले मैत्रीपूर्ण प्रतियोगिताले मनोरञ्जन प्रदान गर्नुका साथै जनप्रतिनिधि र पत्रकारका बीचमा सम्बन्ध विस्तार गर्ने बताउनुभयाे । कार्यक्रममा नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष माधव प्रसाद अर्यालले स्वास्थ्य र राष्ट्रको गौरवसँग जोडिएको खेलकुदको विकासमा स्थानीय तहले विकास गर्न सहयोग गरेकामा सकारात्मक भएको बताउनुभयो । वहाँले खेलकुदको वस्तुगत धरातललाई आत्मासाथ गर्दै यो क्षेत्र विकासका लागि सबै क्षेत्र जुट्न आवश्यक रहेको बताउनुभयो । सोही अवसरमा बडादशैं, दिपावली, छठ र नेपाल सम्वत् लगाएतका चाडको अवसरमा शुभकामना आदानप्रदान गरिएको थियो । सोही अवसरमा नेपाली काँग्रेस जिल्ला उपसभापति झपेन्द्र गहिरे, प्रहरी उपरीक्षक हेरम्ब शर्मा लगायत जिल्लाका पत्रकार, स्थानीय बासिन्दा, राजनीतिक दलका नेता, कार्यकर्ता, स्थानीय क्लब, संघसंस्थाका व्यक्तिहरुले पनि एक आपसमा शुभकामना आदानप्रदान गर्दै समय समयमा यस्ता मैत्रीपूर्ण प्रतियोगिता आयोजना गर्नुपर्नेमा जोड दिनुभएकाे थियाे ।
प्रकाशित मिति: शनिबार, कात्तिक ४, २०८०  ०८:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update