Erani Mahal
नेपालको नियात्रा सङ्ग्रह ‘ससुरालीदेखि सुस्तासम्म’ विमोचन
niyatra-bimochan1
तानसेन - साहित्यकार विनोद नेपालको नियात्रा सङ्ग्रह ‘ससुरालीदेखि सुस्तासम्म’ विमोचन गरिएको छ । नेपालको नियात्रा सङ्ग्रह वरिष्ठ साहित्यकार चोलेश्वर शर्माले विमोचन गर्नुभयो । वरिष्ठ साहित्यकार शर्माले कृतिका लेखक आधा शताब्दीदेखि साहित्य क्षेत्रमा लागेका एक सफल साधक रहेको उल्लेख गर्नुभयो । कृतिमा देशको एउटा सचेत नागरिकका अभिव्यक्ति समेटिएको उहाँले बताउनुभयो । कृतिमाथि समीक्षा गर्नुहुँदै समीक्षक आख्यानकार तथा समालोचक डा. शङ्करप्रसाद गैरेले कृति प्रकाशन हुनु र सन्तान जन्मिनु उस्तै रहेको टिप्पणी गर्नुभयो । कृतिमा समाविष्ट विषयवस्तुले लामा यात्राहरू मात्र नभई छोटा यात्राहरू पनि महत्त्वपूर्ण हुन्छन् भन्ने सन्देश दिएको उहाँले बताउनुभयो । कृतिकार विनोद नेपालले बैङ्किङ सेवाबाट अवकाश लिएपछि घुमफिर पनि बढेको र नियात्रा साहित्यतर्फ आफूले कलम चलाएको बताउनुभयो । वि.स. २०३५ सालदेखि साहित्यमा कलम चलाउन थाल्नुभएका नेपालले ‘देशपरदेश’ नियात्रासङ्ग्रह (२०७६), ‘गोदान’ लघुकथासङ्ग्रह (२०७७), ‘हल्लै हल्लाको देश’ कवितासङ्ग्रह (२०७८) र ‘ससुरालीदेखि सुस्तासम्म’ (२०८०) गरी चार वटा एकल कृतिहरू प्रकाशन गरिसक्नुभएको छ । कार्यक्रममा धवल पुस्तकालयका अध्यक्ष युवराज पाैडेल, त्रिभुवन बहुमुखी क्याम्पसका प्रमुख टंकप्रसाद भट्टराइ, तानसेन ८ का वडाअध्यक्ष साेमनाथ अर्थाल, खगेन्द्र बस्याल, त्रिबक्याका पूर्व क्याम्पस प्रमुख जीवन थापा, पाल्पा साहित्य समाजका अध्यक्ष पुस्कारराज रेग्मीले शुभकामना दिनुभयाे । यस्तै नारी उन्नयन् प्रतिष्ठान पाल्पाकी अध्यक्ष मन गहिरे, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष गाेविन्द भट्टराइ, धवल पुस्तकालयका सचिव टंकप्रसाद पन्थले समेत शुभकामना दिनुभयाे । कार्यक्रमकाे संचालन पुस्कालयका महासचिव राजेशकुमार अर्यालले गर्नुभएकाे थियाे ।
प्रकाशित मिति: सोमबार, मंसिर ११, २०८०  १९:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update