Erani Mahal
सात वर्षदेखि चिलाङ्दी–चापपानी–राम्दी सडक अलपत्र

पाल्पा – निर्माण व्यवसायीको लापरबाहीले चिलाङ्दी–चापपानी–राम्दीसम्मको सडक सात वर्षदेखि अलपत्र अवस्थामा छ । ठेक्का भएको सात वर्ष बितिसक्दासमेत ठेकेदारको लापरबाहीले सडकको काम पूरा हुन नसकेको हो । 


सदरमुकाम तानसेनदेखि उत्तरतर्फ जाने चिलाङ्दी–चापपानी–राम्दीसम्मको सडक कालोपत्रे गर्न वि.स. २०७३ असोज १९ गते ठेक्का–सम्झौता भएको थियो । सम्झौता भएको १५ महिनाभित्र काम सक्ने गरी निर्माण व्यवसायी वाइपी–जय–रक्तकाली जेभी पुलचोक ललितपुरसँग सम्झौता भएको सडक पूर्वाधार विकास कार्यालय पाल्पाले जनाएको छ । विश्व बैँकको आठ करोड ३१ लाख लगानीमा आठ किलोमिटर सडक निर्माण गर्न तत्कालिन जिल्ला प्राविधिक कार्यालयसँग सम्झौता भएको थियो । 


झण्डै एक दशकसम्म सडक निर्माणको काम पूरा नगर्दा सडक पूर्वाधार कार्यालयलाई यो योजना सम्पन्न गर्न टाउको दुखाइको विषय बनेको छ । निर्माण व्यवसायीले गएको असारमा काम गर्न थालेपनि केही स्थानमा मात्र काम गरेर पुन बेपत्ता बनेको कार्यालयका प्रमुख बासुदेव भण्डारीले बताउनुभयो । लामो समयसम्म योजना सम्पन्न नहुँदा यो वर्ष उक्त सडक निर्माणका लागि बजेट नै नभएको उहाँले बताउनुभयो । 

 

sadak-alpatra-chilandii-1703685885.jpg
 


निर्माण व्यवसायीको लापरबाहीले उक्त आयोजना पूरा हुन नसकेको र योजना पूरा गर्नका लागि बजेटको पहल भइरहेको कार्यालयको भनाई छ । निर्माण व्यवसायीले विभिन्न बहाना बनाएर सडक निर्माणको काम नगरेको कार्यालय प्रमुख भण्डारीले बताउनुभयो । 


सडक पूर्वाधार विकास कार्यालयका अनुसार गएको असारसम्मका सडकको ७९ प्रतिशत काम सकिएको थियो । बाँकी कामका लागि ठेकेदारले काम गरेजस्तो गरेर पुनः सम्पर्कबिहीन बनेको र अब बाटो पूरा हुने छाँट नभएको स्थानीय बासिन्दाको भनाई छ । समयमै काम नसकिँदा बनाइएका संरचना समेत भत्किएकाे छ । 


चिलाङ्दी चापपानी तथा राम्दी सडक पाल्पाको महत्वपूर्ण सडकको रुपमा रहेको छ । सडक पूर्ण रुपमा कालोपत्रे भएपछि तानसेन–आर्यभञ्ज्याङ्ग–राम्दी सडकको बैकल्पिक मार्गको रुपमा चिलाङदी चापपानी सडकलाई प्रयोग गर्न सकिन्छ । जुन बाटो १५ किलोमिटर छोटो दुरीमा पर्छ । 
 

प्रकाशित मिति: बुधबार, पुस ११, २०८०  १९:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update