Erani Mahal
मुक्तिनाथ सहकारीको दशाैं साधारणसभा सम्पन्न

पाल्पा – मुक्तिनाथ कृषि बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड तानसेन पाल्पाको १० औ वार्षिक साधारण सभा सम्पन्न भएको छ । वार्षिक साधारणसभाको पाल्पा उधोग वाणिज्य संघका अध्यक्ष एवं संस्थाका शेयर सदस्य शैलेन्द्र भट्टराई उद्घाटन गर्नुभयो । 

वार्षिक साधारण सभामा पाल्पा उवासंघका अध्यक्ष भट्टराईले सहकारी भनेकै एक आपसमा सहकार्य गरेर काम गर्ने एक जनमैत्री अभियान भएको बताउनुभयो । मुक्तिनाथ कृषि सहकारीले आगामी दिनमा कृषि क्षेत्र लाई प्रमुख विषयबस्तु बनाएर काम गर्नुपर्नेमा जोड दिनुभयो । साधारण सभामा संस्थाका अध्यक्ष देव बहादुर पचभैयाले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै शेयर सदस्यहरुको रकम लाई कुनै पनि तरिका बाट जोखिम नहुने गरी संस्थाले काम गर्दै आएको बताउनुभयो । कार्यसमिति, ऋण समिति निकै संवेदनशिल लगानी गर्दै आएको अध्यक्ष पचभैयाले जोड दिनुभयो । 
संस्थाका सचिव शंकर भण्डारीले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्दै  आर्थिक बर्ष २०७९, ८० मा ८ करोड २५ लाख रुपैयाको कारोवार भएको जानकारी दिनुभयो । सचिव भण्डारीले आगामी दिनमा सहकारीले गर्नुपर्ने काययोजना प्रस्तुत गर्नुभयो । कोषाध्यक्ष समिरमान सिंहले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै तीन करोड १९ लाख रुपैया बचत, ९९ लाख ८६ हजार शेयर पुजी, चार करोड ९९ लाख रुपैया कर्जा लगानी रहेको साधारण सभामा जानकारी दिनुभयो । लेखा सुपरिवेक्षण समितीका संयोजक फर्सुराम सापकोटाले कार्य समितीले गरेका काम, ऋण उप समितीले गरेका लगानी, निति नियम हालको सहकारीको अवस्था बारे चर्चा गर्नुभयो ।
कार्यक्रममा सल्लाहकारहरु मोहन प्रसाद श्रेष्ठ, हरि रायमाझी र भिमसेन कार्कीले पैसाको कारोवार गर्दा निकै संवेदनशिल, जिम्मेवार भई काम गर्न कार्यसमिती तथा ऋण उपसमिती लाई अनुरोध गर्नुभयो । संस्थामा कुनै एउटा व्यक्ति वा पात्रको कारण सिंगो संस्था बदनाम हुने, डुब्ने, जस्ता खतरा भएकोले निति नियम कानुन, सहकारीको मुल्य मान्यतामा अक्षरस पालना गर्दै कारोवार गर्न सल्लाहकारहरुले सुझाव दिनुभयो । साधारण सभा संस्थाका अध्यक्ष देव बहादुर पचभैयाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष विनोद पंन्थीको स्वागत, सचिव शंकर भण्डारीको संचालनमा चलेको थियो । 

प्रकाशित मिति: सोमबार, पुस २३, २०८०  ०७:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update