Erani Mahal
सिद्धबाबा सुरुङमार्गको मुख्य टनेल खन्न सुरु

पाल्पा  – राष्ट्रिय गौरवको आयोजनाका रुपमा लिइएको बुटवल–पाल्पा सडक खण्डमा पर्ने सिद्धबाबा सुरुङमार्गको मुख्य टनेल खन्न सुरु भएको छ । सुरुङ निर्माणको ठेक्का पाएको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले १ हजार १२६ मिटर (१.१२६ किलोमिटर) सुरुङ खन्ने काम सुरु गरेको हो ।

पाल्पातर्फ सिद्धबाबा मन्दिरदेखि दोभान, रामापिथेकस पार्क हेडबक्ससम्म निर्माण हुने सुरुङको पोर्टल, बाइपास टेल तथा स्लोपसँगै सुरुङ खन्ने काम सुरु भएको आयोजना प्रमुख रामपुकार जयसवालले जानकारी दिनुभयो ।

 

 

सुरुङमार्गको मुख्य टनेल खन्ने काम थालनी भए पनि परियोजना भने २०७७ देखिनै सुरु भएको हो । ‘डिजाइन एण्ड बिल्ड’ मोडालिटीमा निर्माण हुँदै गरेको यस परियोजना राष्ट्रिय योजना आयोगबाट स्वीकृत बहुवर्षीय परियोजना हो । बहुवर्षीय ठेक्का मापदण्ड, २०७६ बमोजिम निर्माण कार्य अघि बढेको परियोजनाको समयावधि ५ वर्षको छ ।

 

चिनियाँ कम्पनीले सन् २०२७ मा परियोजना सम्पन्न गर्नुपर्ने सिद्धबाबा सुरुङमार्ग परियोजनाका प्रमुख रामपुकार जैसवालले जानकारी दिनुभयो ।

 

‘परियोजनाको काम अघिदेखि नै भइरहेको छ । साइट क्लियरिङ्ग, डिजाइन तथा अध्ययनको काम भइरहेको थियो । मुख्य टनेलको काम केही दिनयता अन्य काम सकेर सुरु भएको हो,’ परियोजना प्रमुख जैसवालले भन्नुभयो।

 

सिद्धबाबा–पाल्पा छेड्ने मुख्य टनेलको लम्बाइ १ हजार २६ मिटरको छ भने सहायक टनेलहरुको लम्बाइ २ हजार मिटरभन्दा बढी हुने परियोजना प्रमुख जैसवालले बताउनुभयो ।

 

 

खासगरी बुटवल–पाल्पा सडक खण्ड अन्तर्गतको तल्लो सिद्धबाबा मन्दिरदेखि दोभान चौकीसम्मको करिब ३ किलोमिटर सडक क्षेत्र उच्च पहिरोको जोखिमका कारण खतरापूर्ण छ । प्रायः बर्खा याममा पहिरो झरिरहने यो चट्टानी क्षेत्रमा हिउँदमा समेत सुक्खा पहिरोको उत्तिकै जोखिम छ । बर्सेनि सडक दुर्घटनाका कारण सयौँले ज्यान गुमाउँदै आएको यस क्षेत्रलाई मृत्युमार्गका नामले समेत चिन्ने गरिन्छ । यही समस्याको दीर्घकालीन निराकरणका लागि सरकारले आफ्नै लगानीमा सुरुङमार्ग निर्माण गर्न लागेको हो ।

प्रकाशित मिति: बुधबार, माघ १०, २०८०  ११:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update