Erani Mahal
बगनासकालीले वडा वस्ती स्तरमै पुगेर जनतालाई सेवा प्रदान 

पाल्पा - जिल्लाको बगनासकाली गाउँपालिकाले वडा वडामै पुगेर जनतालाई सेवा प्रदान गरेको छ । पालिकाले माघ ९-१९ गतेसम्म एकीकृति घुम्ति सेवा मार्फत वडामै पुगेर सेवा दिईरहेको छ । गाउँपालिकाले त्रैमासिक रूपमा समय छुट्याएर वडामै पुगेर सेवा प्रवाहलाई निरन्तरता दिएको छ । गाउँपालिकाले एकीकृत घुम्ति शिविरमार्फत सामाजिक सुरक्षा भत्ता, स्वास्थ्य परीक्षण औषधि वितरण तथा स्वास्थ्य शिक्षा, आयुर्वेद स्वास्थ्य जाँच, औषधि वितरण तथा स्वस्थ जीवनशैली शिक्षा, पशु स्वास्थ्य अन्तर्गत औषधि वितरण तथा पशुसेवा परामर्श र जेष्ठ नागरिक परिचय पत्र सम्बन्धी सेवाहरू वडातहमै पुगेर प्रवाह गरेको हो । 

 


जनतालाई केन्द्रमा राखेर आफूहरूले सेवा प्रवाह गर्दै आएको गाउँपालिकाका अध्यक्ष सरस्वती दर्लामी चिदीले बताउनुभयो । स्थानीय सरकार नागरिकको नजिकको सरकार हो भन्ने मान्यता स्थापित गर्न समेत यसरी वडास्तरमा घुम्ति सेवा सञ्चालन गरिएको अध्यक्ष चिदीको भनाइ छ । 
वडामै आएर पालिकाले सेवा प्रवाह गरेकोप्रति स्थानीयहरू निकै खुसी देखिएका छन् । यसरी वडाबाट नै सेवा पाउँदा अत्यन्तै खुसी लागेको वडा नं. २ का स्थानीय भुनादेवी पराजुलीले बताउनुभयो । ‘‘गाउँपालिकामा जान आउन समयसँगै धेरै खर्च समेत हुन्छ ।’’ उहाँले भन्नुभयो, ‘‘पालिकाले आफ्नै गाउँघरमा आएर सेवा प्रवाह गर्दा पैसा र समय दुवै बचत भएको छ ।’’

 


गाउँपालिकाले वडामै पुगेर पाँच शीर्षकमा सेवा प्रवाह गर्ने प्रमुख प्रशासकीय अधिकृत बद्रिनाथ लम्सालले जानकारी दिनुभयो । पालिकाको नीति तथा कार्यक्रमलाई कार्यान्वयनका लागि जनतालाई स्थानीय सरकार हाम्रो सरकार हो भन्ने भावना जागृत गराउन वडा तहमै पुगेर सेवा प्रवाह गरिएको गाउँपालिकाका प्रवक्ता टिकाबहादुर थापाले बताउनुभयो । उहाँका अनुसार माघ ९ गतेदेखि १९ गतेसम्म गाउँपालिकाका नौ वटै वडामा पुगेर सेवा प्रवाह गरिनेछ । 

 

 


यसैवीच मंगलबार वडा नं. २ पोखराथोकमा ९१ जनाले सामाजिक सुरक्षा, ६० जनाको स्वास्थ्य परीक्षण, ५३ जनाले जेष्ठ नागरिक परिचय पत्र तयारी, ४४ जनाले आयुर्वेद सेवा, ४२ जनाले पशुस्वास्थ्य परामर्श सेवा लिएका छन् । गाउँपालिकाले गत आ.व.देखि एकीकृत घुम्ती शिविरलाई निरन्तरता दिदै आएको जनाएको छ ।

 

 
 
प्रकाशित मिति: शनिबार, माघ १३, २०८०  १३:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update