Erani Mahal
रामपुर नगरपालिका स्तरीय छैठौं मेयर कप खेलकूद सुरु

पाल्पा, - रामपुर नगरपालिकामा छैठौँ मेयर कप २०८० विविध खेलकुद तथा बौद्धिक कार्यक्रम शुरु भएको छ ।

images

रामपुर नगरपालिकाको आयोजना र नगर खेलकुद विकास समिति रामपुर पाल्पाको सञ्चालनमा शुक्रबारदेखि मेयर कप २०८० विविध बैद्धिक प्रतियोगिता कार्यक्रम शुरु भएको हो ।

 

 

मेयर कप २०८० को उद्घाटन गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले खेलले राष्ट्र र राष्ट्रियताको पहिचान दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनु भएको छ ।

उहाँले भन्नुभयो– ''विभिन्न समयमा हुने विविध प्रतियोगिताले उत्कृष्ट खेलाडी उत्पादन गर्छ, गाँउका दुर दराजका खेलाडीको प्रतिभा प्रस्फुटन गर्न मेयर कप जस्ता कार्यक्रमले सघाउ पु¥याउँछ ।''

नगर प्रमुख थापाले खेल खेलाउने मात्र नभई नगरपालिकाले अब विभिन्न खेलकुदको प्रशिक्षणसहित उत्कृष्ट खेलाडी उत्पादनमा जोड दिने बताउनुभयो ।

खेलाडीलाई हौसला प्रदान गर्नका लागि नगरपालिकाले विभिन्न समयमा सम्मान गरेको भन्दै थापाले नगरपालिकाले आगामी आर्थिक वर्षमा प्याराफिटसहितको नगरस्तरीय रंगशाला बनाउन शुरु गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो ''हामी सँग धेरै खेल मैदान छन्, कुन स्थान कुन खेलका लागि आवश्यक र उपयुक्त छ त्यसको पहिचान गरेर खेल मैदानलाई व्यवस्थित गर्नु पर्छ ।''

 

 

नगर प्रमुख थापाले सिमित स्रोत साधन र चुनौतिका विच खेलकुदलाई नगरपालिकाले प्राथमिकता दिंदै आएको भन्दै आगामी दिनमा अझ परिमार्जित र परिस्कृत रुपमा खेलकुदका कार्यक्रम सञ्चालन गरिने बताउनुभयो ।

 

 

रामपुर नगरपालिका ७ किसानबारी खेल मैदानमा भएको कार्यक्रममा रामपुर नगरपालिकाका नगर उपप्रमुख बाल कुमारी थापाले खेलाडी उत्पादन र खेलकुदको विकासका लागि रामपुर नगरपालिका प्रतिबद्ध भएर लागेको बताउनु भएको छ ।

 

 

खेल अनुशासनपूर्वक खेलिने मैत्रिपूर्ण लडाँई भएको भन्दै खेलमा हार जित भन्दा पनि धेरै कुरा सिक्ने अवसर मिल्ने बताउनुभयो ।

कार्यक्रममा रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुर्य दर्शन पण्डितले खेलकुद स्वास्थ्यका लागि अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो । शारिरिक मानसिक र बौद्धिक हिसाबले खेलकुद मानव जीवनमा महत्वपूर्ण रहेको बताउनुभयो ।

कार्यक्रममा नेपाली काँग्रेस रामपुरका नगर सभापति नेत्र प्रसाद भट्टराई, नेकपा एमाले रामपुरका प्रतिनिधि ईश्वरी खनाल, नेकपा माओवादी केन्द्र रामपुरका अध्यक्ष यम बहादुर सुनार, नेकपा एकिकृत समाजवादी रामपुरका अध्यक्ष फणेश्वर गौतम, राष्ट्रिय जनमोर्चा रामपुरका राम प्रसाद गैरेले बोल्दै कार्यक्रम सफलताको शुभकामना दिनुभयो ।

नगर खेलकुद विकास समितिका अध्यक्ष कमल सेनको अध्यक्षतामा भएको कार्यक्रम सहसचिव जमुना रानाको स्वागत र महासचिव राजु गुरुङको सञ्चालनमा सम्पन्न भएको हो ।

मेयर कप उद्घाटनका अवसरमा नगरपालिकाका १० वटै वडाले खेलाडी र झाँकी सहित मार्च पास समेत गरिएको थियो ।

 
प्रकाशित मिति: शनिबार, माघ २०, २०८०  १८:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update