Erani Mahal
रैनादेवी छहरा गाउँपालिकाको ३३ प्रतिशत काम सकियो 

पाल्पा – जिल्लाको रैनादेवी छहरा गाउँपालिकाको चालु आर्थिक २०८०।०८१ को ३३ प्रतिशत योजनाको काम सम्पन्न भएको जनाएको छ ।  चालु वर्षको ८ महिनामा ३३ प्रतिशत योजना सम्पन्न गरेको हो । गाउँपालिकाले आउँदो जेठ महिना भित्र उपभोक्ता समितिमार्फत सञ्चालनका लागि सम्झौता भएका सम्पूर्ण योजनाका कामहरु सक्ने गरी कामलाई तीव्रता दिएको जनाएको छ  । 

 


चालु आर्थिक वर्षमा गाउँपालिकाले २ सय ७८ वटा योजना रहेका थिए । जसमा २ सय ४२ वटा सम्झौता भएका छन् । सम्झौता भएका योजनाहरुमा ९५ वटा कार्य सम्पन्न गरी फरफारक समेत भएको लेखा अधिकृत लिलामणी बस्यालले बताउनुभयो । गाउँपालिकाको कुल चालुगत तर्फको बजेटमा ३९ दशमलव ८९ प्रतिशत खर्च गरेको छ । यस्तै पुँजीगततर्फ १४ दशमलव ५६ प्रतिशत मात्र खर्च भएको लेखा अधिकृत बस्यालले बताउनुभयो । ठूला साना योजनाहरु सम्झौता भए पनि कार्य सम्पन्न नहुँदा भुक्तानी नभएकोले पुँजीगत खर्च कम देखिएको उहाँको भनाइ छ ।

 


यसका साथै गाउँपालिकाले आन्तरिक आम्दानीको कुल लक्ष्य अनुसार ६ महिनाको अवधिमा ६७ प्रतिशत प्रगति गरेको छ  । जसमा ६० लाख ११ हजार रुपैयाँ आम्दानी भएको छ । गाउँपालिकाको न्यायिक समितिमा १६ वटा उजुरी परेकोमा ७ वटा फछ्र्यौट भएको र ९ वटा छलफलको क्रममा रहेको गाउँपालिका उपाध्यक्ष युवराज थापाले बताउनुभयो । 

 


पालिकाले कक्षा ४ र ५ को स्थानीय पाठ्यक्रम, कक्षा १ देखी ३ सम्मको स्थानीय पाठ्यपुस्तकको प्रारम्भिक मस्यौदा तयार भएको प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो । 

 


गाउँपालिका भित्रका ठूला योजना अन्र्तगत सुन्दरढुंगा सालझण्डी क्षेत्रमा निर्माणको काम भइरहेको, छहरादेखि धजाबान्नेसम्मको सडक कालोपत्रेको काम भइरहेको, धजा बान्नेदेखि ३ नं वडा कार्यालय हुँदै तालपोखरा अर्घाखाँची जोड्ने सडकको स्तरोन्नतिको काम चलिरहेको र १५ शैयाको अस्पताल निर्माणको काम पनि सुरु भएको गाउँपालिका अध्यक्ष रुक्मांङत भट्टराईले बताउनुभयो ।
 

प्रकाशित मिति: शनिबार, फागुन ५, २०८०  १८:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update