Erani Mahal
तानसेन महाेत्सव सकियाे, सात कराेड बढीकाे काराेबार

पाल्पा – १३ दिनसम्म सञ्चालन भएको ‘प्रथम तानसेन महोत्सव’ सकिएको छ । पहिलो पटक तानसेन नगरपालिकाको आयोजनामा महोत्सव भएको हो । महोत्सव अबधिभरिमा सात करोडको आर्थिक कारोबार भएको तानसेन नगरपालिकाले जनाएको छ । 
महोत्सवको समापन कार्यक्रमका प्रमुख अतिथि लुम्विनी प्रदेशसभाका सभामुख तुलाराम घर्तीमगरले नगरपालिकाले पहिलो पटक आयोजना गरेको महोत्सवमा कृषि क्षेत्रलाई प्राथमिकता दिएर पृथक पहिचान कायम गरेको बताउनुभयो । उहाँले नगरपालिकाले आफूलाई आर्थिक रुपमा बलियो बनाउन महोत्सव गर्नु नयाँ अभ्यास भएको उल्लेख गर्नुभयो । तानसेनले आफ्नो इतिहास कायम राख्दै नयाँ काम गर्दै जानुपर्नेमा उहाँले जोड दिनुभयो ।419071079_7685595071473298_5664378767934061532_n-1710427598.jpg

यस्तै पूर्व उद्योग मन्त्री सोमप्रसाद पाण्डेयले तानसेनको समग्र विकासका लागि सबै पक्षसँगको सहकार्यमा जोड दिनुभयो । उहाँले आफूले विगतमा पाल्पा क्षेत्रको विकासका लागि प्रस्ताव गरेको योजनालाई आधार बनाएर अघि बढ्न सकिने बताउनुभयो । कार्यक्रममा प्रदेशसभाका सदस्य खेमबहादुर सारुले शिक्षा, स्वास्थ्य र पर्यटन क्षेत्रको विकासबाट तानसेनको विकास सम्भव रहेको विचार राख्नुभयो ।  जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनाल, पाल्पाका प्रमुख जिल्ला अधिकारी आनन्द काफ्ले, नेपाल पत्रकार महासंघ पाल्पा शाखाका अध्यक्ष रेखीराम रानालगायतले महोत्सव समग्रमा सफल भएको बताउनुभयो । 417528363_7685595368139935_5923165912509127834_n-1710427649.jpg

समापनमा धन्यवाद ज्ञापन गर्नुहुँदै नगर उपप्रमुख प्रतीक्षा सिंजाली गाहाले महोत्सवले विभिन्न विद्यामा विभिन्न संघसंस्थाका बीचमा प्रतिष्पर्धा गराएर पुरस्कार वितरण गरेको जानकारी दिनुभयो । कार्यक्रम नगर प्रमुख श्रेष्ठको अध्यक्षता र नगर प्रवक्ता यादवसिंह कार्कीको संचालनमा सम्पन्न भएको थियो । सो अवसरमा विभिन्न उपसमिति तथा महोत्सव सफल बनाउन सहयोग गर्नेहरुलाई सम्मान गरिएको थियो । 
महोत्सव फागुन १९ गतेदेखि चैत १ गतेसम्म सञ्चालन भएको हो । १० दिनसम्म सञ्चालन हुने भनिएको महोत्सव एक दिन पानी परेका कारण र एक दिन उद्घाटनको समयलाई व्यवस्थापन गर्न दुई दिन थप गरिएको आयोजकको भनाई छ । 


महोत्सवले न्युनतम आम्दानी कायम गरेको छ : नगर प्रमुख 
यस्तै तानसेन नगरपालिकाको आन्तरिक आम्दानी बृद्धि गर्न महोत्सव कोसेढुङ्गा सावित बनेको नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले बताउनुभयो । समापन कार्यक्रममा बोल्नुहुँदै उहाँले नगरपालिकाले विगतका वर्षमा टुंडिखेल अन्य संघसंस्थालाई प्रयोग गर्न दिएर जम्मा एक/डेढ लाख मात्र आम्दानी गरेकोमा अबदेखि मेला महोत्सवबाट कम्तीमा ६१ लाख आम्दानी हुने बाटो सुनिश्चित भएको उहाँको भनाई छ । 419736886_7685594828139989_5170695856151591758_n-1710427532.jpg

विगतमा विभिन्न क्षेत्रबाट भइरहेको राजश्व चुहावटलाई नगरपालिकाले अहिले रोक्ने प्रयास गरेको बताउँदै उहाँले नगरको आम्दानी नगरको विकासमा खर्च गरिने बताउनुभयो । उहाँले अहिले राजश्व चुहावट रोकेपछि आन्तरिक आम्दानी शतप्रतिशतले वृद्धि भएको जानकारी दिनुभयो । जबसम्म नगरपालिका आफ्नो आन्तरिक आयमा सबल हुन्न तबसम्म जनताको विकासको माग पूरा गर्न नसकिने भन्दै उहाँले महोत्सवले नगरपालिकाको आम्दानी वृद्धि गर्न सफल भएको बताउनुभयो ।
नगर प्रमुख श्रेष्ठले नगरपालिकाले डेढ वर्षको बीचमा खानेपानीको व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेलेर खानेपानी वितरण प्रणाली सुधार गरेको दावी गर्नुभयो । यस्तै तानसेनको मख्खनटोलमा रहेको टहरा हटाएर पर्यटकीय क्षेत्रको संरक्षण र विकासका लागि ढोका खोलेको जिकिर गर्नुभयो । नगरप्रमुख श्रेष्ठले अबका दिनमा तानसेन नगरक्षेत्रको सडकको न्युनतम मापदण्ड तयार गरेर सडक विस्तारको काम सुरु गरिने जानकारी दिनुभयो । तानसेनको वृहत्तर विकासका लागि भावी योजना बनाएर अघि बढ्ने उहाँको भनाई छ । tansen-ma-1710427697.jpg
 

प्रकाशित मिति: बिहीबार, चैत १, २०८०  २०:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update