मथुरा प्रसाद ढकाल
परिचय
पाल्पाको जिल्लाको मध्यभाग, बगनासकाली गाउँपालिका वडा नं-२, साबिक पोखराथोक गाबिसमा अवस्थित, माण्डब्य ऋषिको तपोभूमी माडी फाँटको मध्यभागमा अबस्थित छ। समुन्द्र सतहबाट करिब ६५० मिटर उचाईमा रहेको यो ठाउँको दायाँतर्फ तिलोत्तमा नदिको शिर तिनाउ नदि बग्दछ। यहाँ पग्न सिद्धार्थ लोकमार्गमा पर्ने पोखराथोकबाट दक्षिण तर्फ करिब ६ किमि र बाँसटारी झडेवा सडक खणडको सराईबाट उत्तरतर्फ १ किमि पर्दछ। धेरै पहिले यस ठाउँमा रातो रङले पोतिएको एउटा पौवा( पाटी) थियो। यसैको नामबाट यश ठाउँको नाम लालपाटी रहन गएको हो। जुन पाटी आज पनि यस मन्दिरको पूर्वपट्टी जिर्ण अवस्थामा रहेको छ ।
शैक्षिक केन्द्र
लालपाटी बस्तिको उत्तरतर्फ एउटा बिद्यापुर भन्ने ठाउँ छ। जसलाई स्थानीयहरुले नौटीपुर पनि भन्थे। लगौंटी लगाएर पढ्ने भएकाले नौटीपुर भनिएको हो। स्वामी नारायण नन्दले गुरुकुल स्कुल खोल्नु भएको थियो। वहाँले त्यहाँ माण्डब्य ऋषिको मन्दिर बनाउनु भएको थियो। नया शिक्षा २०२८ लागू भएपछि जनता प्राथमिक बिद्यालय स्थापना हुन पुग्यो। हाल उक्त स्कुल देउरालीमा स्थानान्तरण भएपछि बिद्यापुर चौरमा परिणत भएको छ।
ब्यापारीक केन्द्र
पहिले ठाउँ सानो ब्यापारीक केन्द्र थियो। खासगरी नेवार समुदायका मानिसहरूले ब्यापार गर्ने गर्दथे। पहिले झडेवा- रुप्से- लालपाटी - गोर्सत- तानसेन जाने हुलाकी मार्ग थियो र यस ठाउँमा अतिरिक्त हुलाक कार्यालय थियो। माडी क्षेत्रका ९ पञ्चायतका चिठीपत्र यहाँबाट दिनहुँ आउजाउ भईरहने हुनाले मानिसहरू जमघट अत्यधिक हुन्थ्यो।
राजनीतिको केन्द्र
२००७ सालमा प्रजातन्त्र आएपछि यो ठाउँ राजनीतिको केन्द्र बन्न पुगेको थियो। डा. खे आई सिंह , कमलराज रेग्मी , काशीनाथ गौतमहरुले यस ठाउँमा संबोधन संबोधन गरेको बुढापाकाहरु बताउने गर्नुहुन्छ । २०१५ सालको निर्वाचनमा पाल्पाको पूर्वी निर्वाचन क्षेत्रको मतदान केन्द्र ( पोखराथोक, कसेनी, रुप्से) समेत थियो। पञ्चायतको गाउँ फर्के अभियान लागू भएपछि पोखराथोक, रुप्से, पिप्ले र बर्तुङ पञ्चायत मिलाएर लालपाटी पञ्चायत गठन गरिएको थियो, जसको केन्द्र लालपाटी र पहिलो प्रधानपञ्च बर्तुङका ठाकुर चन्द्र कोईराला हुनुहुन्थ्यो । २०३६ सालको जनमत सङ्ग्रहको निर्वाचन ताका क. मनमोहन अधिकारीले सम्बोधन गरेको प्रमाणका कारण पनि यो राजनीतिको केन्द्र थियो।
सांस्कृतिक केन्द्र
लालपाटी फागु पुर्णिामा मेलाको ईतिहास निकै लामो भएको मानिन्छ । यहाँ फागु पूर्णिमा मेला कहिलेदेखि प्रारम्भ भयो भन्ने कुनै प्रामाणिक ईतिहास आजसम्म भेटिएको छैन। फागु पूृ्र्णिमा मेला स्वतस्फूर्त रुपमा आयोजना हुन्थ्यो । माडी क्षेत्रको चारैतिरका गाउँहरूमा घरघर गएर फागु गित गाउने चलन थियो। जसबाट उनीहरू नगद वा अन्न उठाउने गर्दथे। लालपाटीमा फागु मेला ( फापुर्न्या) संगै औपचारिक रुपमा फागु पर्व समापन हुन्थ्यो। फापुर्न्याका दिन चारैतिरबाट जनजाति समुदायहरु आफ्नो संस्कृति सहित बाजागाजा सहित रमाईलो गर्दै यस ठाउँमा भेला हुन्थे र आ- आफ्नो नाचगान प्रश्तुत गर्थे। मानिसहरू जता जता राम्रो नाचगान हुन्थ्यो उतै दगुर्थे।
खासगरी जनजाति समुदायका युवा युवतीले एक अर्कोलाई देखादेख गर्ने र बिबाह गर्नै प्रचलन पनि थियो फापुर्न्या मेला। मन परेको केटाले मन परेकी केटीलाई तानातान गरेर बिबाह गर्ने गर्दथे। आफूले मन पराएकी केटीलाई अर्को केटाले तानतान गरेको देख्दा युवाहरू बिच झगडा तथा लडाइ समेत हुने गर्दथ्यो।
पहिले यहाँ मेलामा रङ्गको प्रयोग हुदैन थियो। मदनपोखराका तत्कालीन युवाहरूले एक अर्कामा रङ्ग दलेर खुसी साटासाट गर्ने प्रचलन समेत थपिएको थियो। रिङ हान्ने र झण्डाबुर्जा को खेलले युवाहरूलाई निकै आकर्षण गर्थ्यो।
यहाँको मेला ब्यापारीक भन्दा सांस्कृतिक मेला हो, बिस्तारै पछि ब्यापार पनि मिसिदै गएको देखिन्छ । सुरुमा सांस्कृतिक पर्वमा खानपान गरिने मासु, बारा, तरुल, सखर, जाँड, रक्सीको बेचबिखन अत्यधिक हुन्थ्यो। पछि बिस्तारै उखु लगायत स्थानिय उत्पादनको व्यापार हुन थाल्यो। पहाडिया मुस्लिमहरु ( चुरेटा) ब्यापार गर्न आउँथे । जसमा महिलाहरु एक बर्षका लागि चुरा पोते खरिद गर्दथे।
वर्तमानमा भएका कार्यहरू
लालपाटीले शैक्षिक, राजनीतिक र ब्यापारीक केन्द्रको पुरानो पहिचान गुमाईसकेको छ। अब त्यो इतिहास पुनर्स्थापित गर्नु निकै चुनौतीपूर्ण छ। तर निरन्तर धिमा गतिमा चलिरहेको साँस्कृतिक पर्व फागु पुर्णिमा मेलालाई आजको सन्दर्भमा निरन्तरता दिने र संस्कृतिको संरक्षण गर्ने आजको आजको आबस्यकता हो। यसै सन्दर्भमा गत बर्षदेखि बगनासकाली -२ वडा कार्यालय र स्थानीय समुदायको सकृयतामा आधुनिक रुपमा फागु पूर्णिमा मेलालाई पुनर्जीवन दिने प्रयास गरिएको छ। यहाँ एउटा निकै ठुलो सोमीको रुख थियो, त्यो सोमीको रुख बुढो भएको र हावा हुरीका कारण ढल्न पुग्यो । हाल सोही ठाउँमा अहिले नरसिंहको मन्दिर र प्रतिक्षालय निर्माण भएको छ। मन्दिर ब्यवस्थापन , लालपाटी गुठी जग्गा ब्यवस्थापन , फागु पुर्णिामा मेला ब्यवस्थापन गर्ने उदेश्यसहित समिति गठन भई कार्य प्रारम्भलाई सुखद सुरुवात मान्नुपर्छ ।
आगामी दायित्व
माडी चक्रपथ यथाशीघ्र सम्पन्न गर्ने, पुरानो हुलाकी मार्गलाई कृषि सडकमामा रुपान्तरण गर्ने, तिनाउ कोरीडोर निर्माण गर्ने, हिउँदमा सधैं बाँझो रहने माडी क्षेत्रलाईलाई हराभरा बनाउने र पुरानो माण्डब्य गुरुकुललाई पुन संचालनमा ल्याउने दायित्व रहेको छ।