Erani Mahal
विश्व खेलकुद पत्रकार दिवसमा अन्तर्किया
NEWS KHEL diwas
पाल्पा – नेपाल खेलकुद पत्रकार मञ्च जिल्ला समन्वय शाखा पाल्पाले विश्व खेलकुद पत्रकार दिवसका अवसरमा अन्तरक्रिया गरेको छ । ‘खेलकुदको अवस्था र सम्भावना’ विषयक अन्तरक्रियाका सहभागीले तानसेनमा खेल पर्यटनकाे अधिक सम्भावना भएपनि खेलकुद गतिविधि अपेक्षा अनुसार हुन नसकेकाे बताएका छन् । तानसेनमा आइतबार आयोजित कार्यक्रमका वक्ताहरुले स्थानीय, संघीय र प्रदेशस्तरका खेलकुद गर्न सकिने सम्भावना प्रशस्त भए पनि खेलसम्बद्ध संस्थाहरुको चासो नहुँदा खेल गतिविधि हुन नसकेको बताएका हुन् । कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ पाल्पा शाखा अध्यक्ष रेखीराम रानाले पछिल्ला दिनमा पाल्पा जिल्ला फुटबल संघको गतिविधिले खेलकुद नै चलायमान बनाएको बताउनुभयो । ‘आर्थिक अभावकै कारण पनि उत्कृष्ट कार्यक्रम गर्न सकिन्छ भन्ने प्रमाणित गरेको पाइयो,’ उहाँले भन्नुभयो ‘अन्य खेल सम्बद्ध संघसंस्थाले पनि बजेट अभाव भनेर बस्ने भन्दा पनि खेलकुद गतिविधि बढाउनुपर्छ ।’ खेलकुद गतिविधिबाट प्रत्यक्ष लाभ लिने क्षेत्र होटल व्यवसायी, उद्योगी, व्यापारीले खेलकुदको विकासका लागि सहयोग गर्नुपर्ने अध्यक्ष रानाले बताउनुभयो । खेलकुद गतिविधि बढाउन स्थानीयको सक्रियता आवश्यक हुने बताउ“दै जिल्लामा १० स्थानीय तहले वर्षेनि ५ करोड बढी खर्चिए पनि उपलब्धि नदेखिएको बताउनुभयो । पाल्पा जिल्ला फुटबल संघका पूर्व महासचिव भरत शर्माले फुटबल, भलिबल जस्ता खेलले नेपालमै उत्कृष्ट स्थान हासिल गरेको इतिहास भए पनि पछिल्ला समयमा भौतिक पूर्वाधार तयार नभएकाले सुस्ताएको बताउनुभयो । पाल्पामा खेलकुदको विकासका लागि एकेडेमी आवश्यकता रहेको बताउँदै जग्गा अभावमा फुटबलको एकाडेमी बन्न नसकेर अन्यत्र गएको स्मरण गर्नुभयो । जिल्ला खेलकुद बिकास समितिका पुर्व अध्यक्ष करुणा काफ्लेले विगतमा खेलकुदको क्षेत्र धेरै अब्बल भएको बताउँदै पुरानो साख गुमेको बताउनुभयो । ‘छिमेकका अन्य जिल्ला खेलकुदमा धेरै अगाडि बढदा पाल्पाले उल्लेख्य प्रगति गर्न सकेको छैन,’ उहाँले भन्नुभयो ‘खेलका पूर्वाधारको अवस्था दयनीय बनेको छ । खेलकुदको अवस्था सुधारर्न सरकारले विशेष लगानी गर्नुपर्छ ।’ पाल्पा जिल्ला फुटबल संघका अध्यक्ष प्रणय वीरजंग राणाले सम्भावना भएर पनि आर्थिक स्रोत जुटाउन नसक्दा खेलकुदको गतिविधि अघि नबढेको बताउनुभयो । ‘मौसमको हिसाबले पाल्पा निकै राम्रो छ,’ ‘खेलकुदमा लगानी गर्नुपर्छ भन्ने भावना नै नभएकाले समस्या आएको हो, उहाँले भन्नुभयो ।’ पाल्पाको खेलकुद विकासका लागि उद्योगी, व्यवसायी, होटल व्यवसायीले सहयोग गर्नुपर्नेमा राणाले जोड दिनुभयो । कार्यक्रममा प्रेस चौतारीका केन्द्रीय सदस्य मिलन विक, नेपाल प्रेस युनियन जिल्ला अध्यक्ष मन गैरे, नेपाल प्रेस युनियन लुम्बिनी प्रदेश लेखा समिति संयोजक मुक्तिप्रसाद न्यौपाने, समाजवादी प्रेस संगठनका अध्यक्ष पदम गैरेले पाल्पामा खेलकुदको गतिविधि संचालन गर्दा व्यवस्थापन राम्रो भयो भने सफलता पाइन्छ भन्ने केही समय अगाडि सम्पन्न फुटबल प्रतियोगिताले देखाएको बताउनुभयो । कार्यक्रम मञ्चका सदस्य कृष्ण कार्कीको स्वागत, मंचका जिल्ला अध्यक्ष माधव अर्यालको अध्यक्षता र कोषाध्यक्ष कमल अधिकारीको संचालनमा सम्पन्न भएको हो ।
प्रकाशित मिति: आइतबार, असार १७, २०८०  २१:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update