Erani Mahal

तानसेन – पाल्पाका सामुदायिक विद्यालयमा अध्ययन्रत पाँच हजार किशोरीको रक्तअल्पना जाँच सुरु भएको छ । जिल्लाका दश वटै पालिकाभित्रका ४० वटा सामुदायिक विद्यालयहरूमा अध्ययन्रत झण्डै पाँच हजार किशोरीहरूको रक्तअल्पता परीक्षण सुरु भएको हो ।

किशोरीमा रक्त अल्पताको समस्या बढ्दै गएकाले त्यसबारे जानकारी लिइ आवश्यक कार्य गर्न परीक्षण थालिएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी टिकाराम अधिकारीले जानकारी दिनुभयो । रक्त अल्पता जाँच अन्तर्गत पहिलो चरणमा रैनादेवी छहरा, रिव्दीकोट, माथागढी र तिनाउ गाउँपालिकाका विद्यालयमा कक्षा ६ देखि १२ सम्म अध्ययन्रत किशोरी सहभागी हुने उहाँले बताउनुभयो । दोस्रो चरणमा तानसेन, रामपुर, पूर्वखोला, निस्दी, बगनासकाली, रम्भा गाउँपालिकामा हुनेछ ।

पछिल्ला वर्षमा दैनिक खानपानका कारण रक्त अल्पताका समस्या हुने किशोरीको सङ्ख्या बढ्दै गएको छ । रक्तअल्पता जाँचबाट किशोरीको पोषण तथा खानपानमा सुधार हुने र उनीहरूलाई आवश्यक पौष्टिक तत्व प्रदान गर्न सहयोग पुग्ने विस्वास गरिएको छ । पाल्पामा २५ प्रतिशतभन्दा बढी किशोरीमा रक्त अल्पताको समस्या रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

आइरन चक्की प्रयोग गरेका किशोरीमा पनि रक्तअल्पताको समस्या देखिनु गम्भीर रहेको स्वास्थ्य कार्यालय पाल्पाका ल्याब टेक्निसियन मधुसुधन भट्टराईले बताउनुभयो । दिनहुँ खाने खानपानमा पत्रु खानेकुराको प्रभाव बढेकाले किशोरीमा रक्तअल्पताको समस्या बढ्दै गएको माथागढी स्वास्थ्य शाखाका प्रमुख केशव जिसीले बताउनुभयो ।

प्रकाशित मिति: बुधबार, मंसिर २७, २०८०  २०:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update