Erani Mahal
माथागढी गाउँपालिकाको प्रशासकीय भवन निर्माण प्रक्रिया सुरु 

पाल्पा - जिल्लाको माथागढी गाउँपालिकाले प्रशासकीय भवनको निर्माण प्रक्रिया सुरु गरेको छ । पालिका भवनको लागि जग्गाको टुंगो लगाएसँगै प्रशासकीय भवन निर्माणको काम सुरु भएको हो ।  

 


गाउँपालिकाको केन्द्र झडेवामा प्रशासकीय भवन निर्माणका लागि आवश्यक जग्गादाताको खोजी गर्दा स्थानीय विष्णुकुमारी जिसीबाट ४ रोपनी, श्यामबहादुर जिसीबाट ३ रोपनी र मीनाकुमारी जिसीबाट १ रोपनी ८ आना १ पैसा जग्गा प्राप्त भएको छ । अहिले जग्गा प्राप्तीको सम्पूणर् प्रक्रिया पूरा भएर भवन निर्माण प्रक्रियालाई तीव्रता दिइएको गाउँपालिका अध्यक्ष चिदीले जानकारी दिनुभयो । भवन निर्माणको लागि माटो निकालेर परीक्षणको लागि लगिएको चिदीले बताउनुभयो । 

 

 


नयाँ प्रक्रियाअनुसार भवनका लागि प्राप्त भएको जग्गाको माटो परीक्षणको काम भैरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार माटो परीक्षणको प्रतिवेदन अनुसार डिपीआरमा सामान्य संशोधन गरेर लागत साझेदारीका लागि स्थानीय पूर्वाधार विभागसँग सम्झौता गरेपछि टेण्डरको सूचना प्रकाशन गरिने बताउनुभयो । 

 


भवन निर्माण कार्य ६० प्रतिशत स्थानीय पूर्वाधार विभाग र ४० प्रतिशत गाउँपालिकाको लागत साझेदारीमा हुने प्रमुख प्रशासकीय अधिकृत घिमिरेले जानकारी दिनुभयो ।  यस वर्ष भवन निर्माणका लागि एक करोड रुपैयाँ बजेट विनियोजन भएको जानकारी दिनुभयो ।

 


प्रशासकीय भवन नहुँदा अहिले विषयगत शाखाहरु विभाजन भएर काम गर्नुपर्ने अवस्था रहेको छ  । जसले गर्दा सेवा प्रदायक र सेवाग्राहीहरुलाई कार्यसम्पादनमा समस्या छ  । पहिलो निर्वाचित गाउँपालिकाको नेतृत्वले टुंगाउन नसकेको जग्गा स्थानीय तहको दोस्रो निर्वाचनबाट निर्वाचित नेतृत्वले टुंगाउन सफल भएको थियो ।

 
 
प्रकाशित मिति: आइतबार, पुस १५, २०८०  ०८:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update