Erani Mahal
म्याद सकियाे : तानसेन मख्खनटोलमा ढुङ्गा बिछ्याउने काम सकिएन

पाल्पा – तानसेनको ऐतिहासिक पाल्पा दरबार परिसर मख्खनटोलमा ढुङ्गा बिछ्याउने काम सकिएकाे छैन । काम सकिने अबधि सकिँदा पनि निर्माण व्यसायीले काम नसकेको हो । मख्खनटोलको सौन्दर्यकरण गर्न भनेर तानसेन नगरपालिकाले आठ महिनाअघि यहाँका ५७ घरटहरा हटाएको थियो । त्यसपछि गत २०८० असार ९ गतेदेखि ठेक्का दिएर ढुङ्गा छाप्ने काम अघि बढाइएको भएपनि अहिलेसम्म पनि कामले गति लिन सकेको छैन । 

छ महिनाभित्र काम सकिने गरी तानसेन नगरपालिकासँग सम्झौता भएपनि ठेक्का लिएको निर्माण व्यवसायी एवि विल्डर्स ग्रुप एण्ड सप्लायर्स काठमाडौँले काममा ढिलाई गरेको हो । निर्माण कम्पनीले मख्खनटोलमा ८८ घनमिटर ढुङ्गा छाप्नका लागि ४१ लाख ६९ हजार ६४३ रुपियाँमा सम्झौता गरेको नगरपालिकाका सूचना अधिारी भरत आचार्यले जानकारी दिनुभयो । काम समयमै सम्पन्न गर्न ताकेता गरेपनि निर्माण व्यवसायीले विविध कारण देखाएर ढिलाई गरेको उहाँले बताउनुभयो । 

घरटहरा हटाएर लामो समयसम्म ढुङ्गा बिछ्याउने काम नगर्दा ऐतिहासिक बजार क्षेत्र कुरुप देखिएको छ । तत्कालै सडक सौन्दर्यकरण गर्ने तथा पाल्पा दरबार परिसरलाई पर्यटकीय स्थलको रुपमा विकास गर्ने योजनासहित घरटहरा हटाइएपनि काममा भएको ढिलाईप्रति स्थानीय बासिन्दासमेत आक्रोशित बनेका छन् । 

सडकका घरटहरा तत्काल हटाउन लगाएर नगरपालिकाले सडक सौन्दर्यकरणको काममा ढिलाई गरेकोमा तानसेन स्थानीय बासिन्दा सन्दीपलाल शाक्यले बताउनुभयो । उहाँले नगरपालिकाले यतिका महिनासम्म सडक निर्माण तथा दरबार परिसर सौन्दर्यकरणमा बेवास्ता गरेर तानसेनको विकासमा खेलवाड गरेको बताउनुभयो । 
 

प्रकाशित मिति: बुधबार, पुस १८, २०८०  १४:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update