Erani Mahal
पाल्पाकाे तिनाउमा चल्छन् नम्बर नभएका स्काभेटर, अवैध कार्यमा प्रयाेग भएकाे आशंका

पाल्पा – जिल्लाको तिनाउमा नम्बर प्लेटविनाका स्काभेटर सञ्चालन रहेका छन् । कुनै पनि सवारीसाधनमा नम्बर प्लेटविना चलाउन नपाइने भएपनि तिनाउमा चल्ने स्काभेटरलाई भने नम्बर प्लेट राख्नुपर्दैन ।
तिनाउ गाउँपालिकाको विभिन्न स्थानमा सञ्चालित स्काभेटरहरू (जेसिवी) मा नम्बर प्लेट राखिएको छैन । नम्बर प्लेटविनाका स्काभेटर कि चोरीका हुन सक्छन् कि कुनै अवैध कामका लागि प्रयोगमा आएको हुन सक्ने स्थानीय बासिन्दाको दावी छ । 
अवैध नदीजन्य पदार्थ ढुंगा, गिट्टी, बालुवा उत्खनन्मा प्रयोग गर्न नम्बर प्लेटविनाका स्काभेटर प्रयोग भएको स्थानीयको भनाइ छ । पछिल्लो समय नदीजन्य पदार्थ चोरी कार्यमा संलग्न सवारीसाधनको फोटो र भिडियो खिचेर पालिकामा कारबाहीका लागि पठाउन थालेपछि नम्बर प्लेट हटाइएका स्काभेटर प्रयोग बढेको स्थानीय बासिन्दाको भनाई छ । 
नदीजन्य पदार्थ चोरीमा संलग्नले राति र दिनको समयमा पनि नम्बर प्लेट नराखेका स्काभेटर प्रयोग गरेका छन् । पालिका भने यस विषयमा मौन रहँदै आएको छ । विगत लामो समयदेखि यस्ता कार्यमा नम्बर प्लेटविनाका स्काभेटर प्रयोगमा आएपनि त्यसलाई नियन्त्रणमा लागेको देखिएको छैन । पालिकाका अध्यक्ष प्रेम श्रेष्ठले भने चोरी कार्य नियन्त्रणका लागि आफू स्वयम् फिल्डमा खटेको बताउनुभयो । 
अवैध कार्यमा मात्र होइन गाउँपालिकाका विभिन्न स्थानमा सञ्चालित सरकारी योजनाको काममा समेत नम्बर प्लेटविनाका स्काभेटर प्रयोगमा आएको जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनालले बताउनुभयो । पालिका र प्रदेश सरकारको लगानी भएका योजनमा समेत नम्बर प्लेटविनाका स्काभेटर प्रयोग भएको जिल्ला खनालले बताउनुभयो । 
तिनाउको बगाहा, कुर्वानखोला, झुम्साखोला, गोरबन्दीघाट, झुम्सा क्षेत्रमा चलेका स्काभेटरमा नम्बर छैन । तिनाउमा विभिन्न स्थानमा पालिकाबाट स्वीकृत विकासे योजना तथा गह्रा सुधारका नाममा भएको ढुङ्गा, बालुवा तथा ग्टिटी उत्खनन्मा अबैध स्काभेटर प्रयोग भएका छन् । पालिकाबाट स्वीकृत योजना तथा नदीजन्य पदार्थ निकासीमा नम्बर प्लेट नराखिएको स्काभेटर प्रयोग भएको स्थानीय बासिन्दाले बताएका छन् ।

पालिकाका जनप्रतिनिधि तथा कर्मचारीले दिनहुँ यस्ता स्काभेटर प्रयोग भएको देखेपनि नियन्त्रणमा चासो दिन सकेका छैनन् । 
जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख राजकुमार चापागाइले भने नम्बर प्लेटविनाका सवारी साधान सञ्चालन गर्न नपाइने बताउनुभयो । उहाँले स्थलगत अनुगमन गर्दा नम्बर प्लेट नराखेका पाँच वटा स्काभेटरलाई कारबाही गरिएको बताउनुभयो । 
 

प्रकाशित मिति: बिहीबार, पुस २६, २०८०  २०:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update