Erani Mahal
निस्दीमा मगरभाषा पाठ्यक्रम निर्माण सम्बन्धि अभिमुखीकरण सम्पन्न

हाेम राइमगर, पाल्पा - निस्दी गाउँपालिका पाल्पामा मगरभाषा निर्माण सम्बन्धि १ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष मुक्त बहादुर सारुको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि भाषा आयोगका पूर्व केन्द्रिय सदस्य अमृत तामाङ योञ्जन रहनुभएको हो । कार्यक्रमको सहजीकरण गर्नु हुँदै प्रमुख अतिथि योञ्जनले भाषाको संरक्षण र सम्बर्द्धन गर्न जातिगत रुपमा आन्दोलन गर्नु परेको स्मरण गर्नुभयो ।

विभिन्न समयको आन्दोलनको उपलब्धि पश्चात् नेपालमा बोलिने सम्पूर्ण भाषाहरु राष्ट्रिय भाषाको रुपमा संविधानमा उल्लेख गर्न सकिएको बताउनुभयो । त्यसैगरी मगर आदिवासी प्रज्ञिक प्रतिष्ठानका प्रज्ञा सभा सदस्य डा. विष्णु कुमार सिंजालीले मगरहरुले आफुमा मगर हुँ भन्ने गर्व गर्न नसकेको जसको परिणाम स्वरुप जनगणनामा सही तथ्यांक आउन नसकेको बताउनुभयो ।

उहाँले २०७८ सालको जनगणनामा पाल्पा जिल्लामा मगर जाति ५३.०३ प्रतिशत रहेको तथ्यांक रहे पनि ३३ प्रतिशतले मात्र मगरभाषाको प्रयोग गर्ने गरेको बताउनुभयो । कार्यक्रमका विशिष्ट अतिथि समेत रहनुभएका पूर्वखोला गाउँपालिकाका अध्यक्ष नून बहादुर थापाले आफ्नो गाउँपालिकामा यस अघि नै ऐच्छिक विषयको रुपमा मगरभाषाको पाठ्यपुस्तक प्रयोगमा ल्याएको बताउनुभयो । उहाँले छिमेकी गाउँपालिकाहरुमा भाषा,संस्कृति र रहनसहनमा मेल खाने भएकोले पाठ्यक्रममा एकरुपता ल्याउनुपर्नेमा जोड दिनुभएको थियो ।

431727001_2100619766972081_7464095276395326900_n-1709862527.jpg
 

त्यसैगरी निस्दी गाउँपालिकाका अध्यक्ष सारुले शैक्षिकसत्र २०८१ देखि आधारभूत तहमा मातृभाषा विषय अन्तर्गत हाललाई कक्षा १ देखि ३ सम्म मगरभाषाको पाठ्यपुस्तक प्रयोगमा ल्याउने योजना रहेको बताउनुभयो । उहाँले लिपिको सिकाइ भन्दा पनि भाषाको बिकास र संरक्षणको लागि भाषाविदहरुको सहयोगमा मगरभाषाको पाठ्यक्रम निर्माण गर्न लागिएको जानकारी दिनुभयो ।

कार्यक्रममा पूर्वखोला गाउँपालिकाका अध्यक्ष लगायत,प्रवक्ता,वडा अध्यक्ष,शिक्षा संयोजक,निस्दी गाउँपालिका कार्यपालिका सदस्यहरु,शिक्षाका संयोजक र विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो । निस्दीको सभा हल बसेनीडाँडा भएको कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष तिरन कुमारी श्रेष्ठको स्वागत मन्तव्य र प्रमुख प्रशासकीय अधिकृत मदन अर्यालको सन्चालनमा भएको हो ।

 
प्रकाशित मिति: शुक्रबार, फागुन २५, २०८०  ०७:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update