Erani Mahal
भाेलिदेखि एसइइ परीक्षा, पाल्पाबाट ४ हजार बढी सहभागी हुने !

तानसेन - पाल्पाबाट याे वर्ष चार हजार १८२ जना विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा (एसईई) दिने अन्तिम तयारी गरेका छन् । जिल्लाभरका सामुदायिक विद्यालयबाट तीन हजार ६९५ जना र संस्थागत विद्यालयबाट ४८७ जनाले एसईई परीक्षा दिने तयारी गरेका हुन् । 

 

 

तीमध्ये दुई हजार १८ जना छात्र र दुई हजार १६४ जना छात्रा रहेको शिक्षा विकास तथा समन्वय इकाइ पाल्पाले जनाएको छ । जिल्लाभरिका २७ जना केन्द्रबाट एसईईको परीक्षा तयारी भइरहेको छ । यो वर्ष नियमिततर्फ चार हजार १० जना र ग्रेड वृद्धिका १७२ जना विद्यार्थी परीक्षा दिने सुवेदीले जानकारी दिनुभयो । त्यसमध्ये दमकडा माविका एक जना दृष्टिविहीन र पाल्पा कारागारका एक जना परीक्षामा सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाइ पाल्पामा प्रमुख महेन्द्र सुवेदीले जानकारी दिनुभयाे ।

 

 

एसईई परीक्षा दिनेमा २६७ जना प्राविधिक धारतर्फका विद्यार्थी हुन् । तानसेनस्थित जनता माविमा सञ्चालित एकमात्र खुल्ला विद्यालयबाट जम्मा १५ जनाले एसइइ दिने तयारी गरेका छन् । यो वर्ष सबैभन्दा बढी रामपुरस्थित दरौटी मावि केन्द्रबाट २८७ जना र सबैभन्दा कम बगनासकालीस्थित चन्द्र मावि चापपानीबाट ६० जनाले एसइइ परीक्षा दिनेछन्।

गत वर्ष २०७९ मा पाल्पाबाट चार हजार ५४६ जनाले एसइइ परीक्षा दिएका थिए । यो वर्ष गत वर्षको तुलनामा ३६४ जना कम विद्यार्थी एसइइमा सहभागी हुनेछन् । परीक्षा मर्यादित बनाउन ४०० बढी सुरक्षाकर्मीसहित ७०० बढी जनशक्ति खट्नेछन् ।

प्रकाशित मिति: बुधबार, चैत १४, २०८०  १५:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update