Erani Mahal
संचारिका समूहकाे भेला तानसेनमा सम्पन्न
received_428060202009818
पाल्पा – पाल्पामा महिला सञ्चारकर्मीहरूको भेला शनिबार तानसेनमा सम्पन्न भएको छ । भेलाले बिन्दु थापाको अध्यक्षतामा १५ सदस्यीय सञ्चारिका समूह गठन गरेको छ । जसको उपाध्यक्षमा रमा भण्डारी, महासचिवमा सीता डोटेल, सचिवमा सविना थापा, कोषाध्यक्षमा जमुना पाण्डे चयन भएका छन् । यस्तै सदस्यहरूमा अनु खनाल, सीमा भट्टराई, बन्दना पोखरेल, मीना कुमाल, सुमित्रा कडेल, अन्जु पाण्डे, कल्पना भट्टराई, रीता पचभैया, शर्मिला थापा र सरस्वती दङ्गाल चयन भएका छन् । कार्यक्रममा सहभागी अतिथिहरूले नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना दिएका थिए । अधिकार प्राप्तिका लागि महिला पत्रकार एकजुट हुन सुझाएका थिए । क्यामेरा बोकेर फिल्डमा समचार खोज्ने महिला पत्रकारको संख्या कम रहेको भेलाका प्रमुख अतिथि लुम्बिनी प्रदेश सञ्चारिक समूहका महासचिव अमृता अनमोलले बताउनुभयो । धेरै महिला सञ्चारकर्मी एफएम रेडियो र टेलिभिजनमा प्राविधिकको जिम्मेवारी वहन गरेका र साङ्गीतिक कार्यक्रम सञ्चालन गरेर बसिरहेका उहाँले बताउनुभयो । सम्बन्धित सञ्चार माध्यमका व्यवस्थापकले समाचार लेख्न चाहने महिला सञ्चारकर्मीलाई तालिम सहित अवसर दिनुपर्छ । महिला भएकै कारण अवसरबाट बञ्चित गर्ने र पारिश्रमिकमा विभेद गर्न नहुने अनमोलले बताउनुभयो । नेपाल पत्रकार महासंघ पाल्पाका उपसभापति भरत शर्माले सफल पत्रकार बन्न मेहनती र इमानदार हुनुपर्ने बताउनुभयो । महिला पत्रकार पत्रकारितामा टिक्न सकिरहेका छैनन्। यसको कारण खोजेर उनीहरूलाई मिडियाको मूलधारमा टिकाइ राख्न महासंघले भूमिका निर्वाह गर्ने उहाँले बताउनुभयो । प्रेस चौतारी नेपाल पाल्पाका अध्यक्ष राजेन्द्र लिगलले मोफसलका सञ्चार माध्यममा दक्ष जनशक्तिको अभाव भएको बताउनुभयो । क्षमता भएका र काम गर्नेलाई मिडियाको खाँचो नभएको उहाँले बताउनुभयो । पत्रकार जगदीश भट्टराईले मिडियामा काम गर्ने पत्रकारले यो वा त्यो बाहानामा नेपाल पत्रकार महासंघको सदस्यता पाउन नसकेको बताउनुभयो । लायन्स क्लब अफ पाल्पाका अध्यक्ष मोहन श्रेष्ठले सामाजिक सञ्जालले पत्रकारितामा चुनौती थपिएको बताउनुभयो । कार्यक्रममा स्वतन्त्र पत्रकार महासंघका महासचिव जीवलाल सुवेदी, रोटरी क्लबका अफ पाल्पा तानसेन अध्यक्ष शैलेन्द्र भट्टराई, लायन्स क्लब अफ श्रीनगरका अध्यक्ष यादवसिंह कार्की, पाल्पा उद्योग वाणिज्य संघअन्तर्गत उद्योग महिला संयोजक रञ्जना अर्याल, पाल्पा व्यापार संघ सदस्य अम्बिका तिमिल्सेनाले समाचारमा निष्पक्षता हुनुपर्ने बताउनुभयो । पाल्पामा पहिलो पटक सञ्चारिका समूह गठन गरिएको हो । नयाँ कार्यसमितिको कार्यकाल तीन वर्ष रहने छ ।
प्रकाशित मिति: शनिबार, साउन ३०, २०७८  २०:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update