Erani Mahal
निस्दीको अर्चलेमा वार्षिक समीक्षा तथा सार्वजनिक सुनुवाइ
IMG_20230804_154808
पाल्पा - निस्दी गाउँपालिका वडा नम्बर-६,अर्चले,पाल्पामा वार्षिक समीक्षा तथा वडा स्तरीय सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । वडाध्यक्ष मेख बहादुर सुनारीको अध्यक्षतामा चलेको कार्यक्रममा यस वर्ष विभिन्न योजना तथा कार्यक्रमका प्रमुख प्रतिनिधि तथा सरोकारवालाहरुको उपस्थिति रहेको थियो । गाउँपालिका प्रवक्ता समेत रहनुभएका वडाध्यक्ष सुनारीले गाउँपालिकाको यस वर्षको निति तथा कार्यक्रम बारे जानकारी गराउनु भएको थियो । उहाँले निर्धारित समयमै योजना तथा कार्यक्रम सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद समेत दिनुभएको थियो । कार्यक्रममा वडा सचिव मीन बहादुर रानाले यस वर्ष अर्चलेमा संचालित योजना तथा कार्यक्रमको कार्य प्रगति बारे जानकारी गराउनु भएको थियो । गत आर्थिक वर्ष अर्चलेमा साना-ठूला गरि ५३ वटा योजना तथा कार्यक्रम सन्चालन भएको र उक्त योजना तथा कार्यक्रममा ३ करोड ६ लाख ३७ हजार रुपैयाँ विनियोजन गरिएको बताउनुभयो । यसैगरी यस वर्ष निस्दी गाउँपालिका,प्रदेश र संघबाट विभिन्न ३० वटा योजना तथा कार्यक्रमका लागि १ करोड ९० लाख रुपैया स्वीकृत भएको बताउनुभयो । यसका साथै वडामा गत वर्ष संचालन भएका योजना तथा कार्यक्रमको आम्दानी र खर्च समेत सम्बन्धित उपभोक्ता समितिका प्रतिनिधिहरुले प्रस्तुत गरेका थिए । कार्यक्रम अर्चलेका विद्यालयहरुको शैक्षिक उपलब्धि संतोषजनक नभएको,स्वास्थ्य चौकीले दिने सेवा सुविधा बारे सहभागीहरुले जिज्ञासा राखेका थिए । त्यसैगरी मोटर निर्माणकार्यमा गाउँपालिकाले टेण्डर मार्फत गरे पनि उपभोक्ता समिति मार्फत गरेको भन्दा गुणस्तर र परिमाणमा समेत शंका गर्ने ठाउँ रहेको बताएका थिए । कार्यक्रममा निस्दी गाउँपालिकाका वडा सदस्यहरु कृष्ण बहादुर सोमै,प्रकाश राना,गोरखनाथ माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक लाल बहादुर बयम्बु,नेकपा एमालेका कृष्ण बहादुर सुनारी लगायतकाले बोल्नु भएको थियो । कार्यपालिका सदस्य मिम्श्री बयम्बुले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सहजीकरण होम राई मगरले गर्नुभएको हो ।
प्रकाशित मिति: सोमबार, साउन २२, २०८०  ०८:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update