Erani Mahal
निस्दीको ज्यामिरेमा वार्षिक समीक्षा तथा सार्वजनिक सुनुवाइ कार्यक्रम
IMG_20230810_150923
पाल्पा - निस्दी गाउँपालिका वडा नम्बर-७,ज्यामिरे,पाल्पामा वार्षिक समीक्षा तथा वडा स्तरीय सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । वडाध्यक्ष मुक्त बहादुर पाटाको अध्यक्षतामा भएको कार्यक्रमको मुख्य पाहुना निस्दी गाउँपालिकाका अध्यक्ष मुक्त बहादुर सारु रहनु भएको थियो । कार्यक्रममा बोल्नु हुँदै अध्यक्ष सारुले स्थानीय जनताको सल्लाह,सुझाव सदैब आवश्यक रहेको बताउनुभयो । उहाँले जनगुनासो आउन नदिन जनप्रतिनिधिहरुको जिम्मेवारी रहेकोले कर्मचारीहरुको समेत सकारात्मक सहयोग हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा ६ नम्बर अर्चलेका वडाध्यक्ष तथा पालिका प्रवक्ता मेख बहादुर सुनारीले शैक्षिक गुणस्तर वृद्धि गर्न स्थानीय शिक्षा ऐनको मस्यौदा तयार भइ सुझाव सल्लाहको चरणमा रहेको बताउनुभयो । साथै दीवा खाजालाई पोषण खाजाको रुपमा कार्यान्वयन गर्नुपर्ने बताउनु हुँदै निस्दीले बालबिकास केन्द्र देखि कक्षा ८ सम्मका विद्यार्थीहरुलाई दीवा खाजा उपलब्ध गराएको जानकारी दिनुभयो । कार्यक्रममा नेकपा एमालेका तुल बहादुर सारु,नेपाली कांग्रेसका लाल बहादुर सारुले स्थानीय जनताको गुनासो स्थानीय सरकारले सुन्नुपर्ने बताउनुभयो । कार्यक्रममा गत वर्ष ज्यामिरेमा सन्चालन भएका योजना कार्यक्रम बारे वडा सचिब चिनिमाया दिशाले जानकारी गराइएको थियो । गत वर्ष ३४ वटा योजनाहरु मध्ये २७ वटा योजना मात्र सम्पन्न भएको ज्यामिरेमा २ करोड ८१ लाख ७५ हजार रुपैयाँ बराबरको योजना सम्पन्न गरेको वडाध्यक्ष पाटाले जानकारी दिनुभयो । उहाँले निर्धारित समयमै योजना तथा कार्यक्रम सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद समेत दिनुभएको थियो । कार्यक्रममा होङ्सी शिवम सिमेन्ट कम्पनीले जनस्तरमा पारेको प्रभाव,उक्त कम्पनीबाट आर्थिक सहयोग स्वरुप प्राप्त भएको २५ लाख मध्ये १५ लाख व्यक्तिको नाममा रहेकोले स्थानीय सरकारको ध्यान जानुपर्नेमा सहभागीहरुले सुझाव दिएका थिए । ज्यामिरेका विद्यालयहरुको शैक्षिक उपलब्धि ,स्वास्थ्य चौकीले दिने सेवा सुविधा बारे सहभागीहरुले जिज्ञासा राखेका थिए । त्यसैगरी जमलेघाटको पक्की पुल निर्माणमा भएको ढिलाइ,योजना संकलनमा बस्ती स्तरमा नजानुका कारणका सम्बन्धमा जानकारी लिएका थिए । कार्यक्रममा वडा सदस्य हुम बहादुर चुहान,ज्यामिरे स्वास्थ चौकी प्रमुख खेम बहादुर सारु,जनप्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक टेक बहादुर पल्ली लगायतकाले आ-आफ्नो धारणा राख्नु भएको थियो । ७ वटै वडामा क्रमशः वडा स्तरीय सार्वजनिक सुनुवाइ सन्चालन गरेको निस्दी गाउँपालिकाले आगामी साउन ३१ गते बुधबार गाउँपालिका स्तरीय सार्वजनिक सुनुवाइ कार्यक्रम सन्चालन गर्ने भएको छ ।
प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८०  २०:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update